विराटनगर, १४ जेठ/प्रदेश साँसद शोभा चेम्जोङ पालुङवाले आन्दोलनरत पक्षसँग वार्ता गरी समस्याको निकास खोज्न माग गरेकी छन् ।
कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशनमा आइतबार शुन्य समयमा बोल्दै साँसद शोभाले आन्दोलनकारीलाई बल प्रयोग गरेर दबाउनु र उनीहरुको मागलाई वेवास्ता गर्नु लोकतान्त्रिक कदम नभएको बिचार व्यक्त गरिन् ।
ऐतिहासिक पृष्ठभूमी र प्राचिन सभ्यताका आधारमा किरात लिम्बुवान नामाकरण गर्न माग राख्ने आन्दोलनकारी पनि यसै प्रदेशका वासिन्दा भएकोले वार्ताको माध्यमबाट उनीहरुको मागको विषयमा छलफल गर्नुपर्ने साँसद शोभाको भनाई थियो ।
एकात्मक र केन्द्रीकृत प्रणालीले जनआंकक्षालाई समेटन नसकेकै कारण संघीयतामा गएको स्मरण गराउँदै उनले प्रारम्भिक कालमा संघीयताको पक्षमा आन्दोलन गर्नेले नै पहिचानलाई मुल मुद्दा बनाएको स्पष्ट पारिन् ।
संवैधानिक प्रक्रियाबाट बहुमत पुर्याएर प्रदेशको नामाकरण गरेपनि जनताको चित्त नबुझेकाले आन्दोलन भएको उनले बताइन् । आन्दोलनका क्रममाा ज्यान गुमाउने पदम लिम्बु ‘लाजेहाङ’ प्रति श्रद्धाञ्जली र शोकाकुल परिवार प्रति संवेदना व्यक्त गर्दै साँसद शोभाले आन्दोलनमा घाइते भएका सबै सुरक्षाकर्मी र आन्दोलनकारीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिन् ।