उर्लाबारी, २७ जेठ/विभिन्न १२ देशका नागरिकहरुलाई अमेरिकामा यात्रामा पूर्ण प्रतिबन्ध लागू हुँदैछ । ट्रम्प प्रशासनले गत बुधबार एक घोषणा पत्रमा हस्ताक्षर गर्दै १२ देशका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ।
ती देशहरुमा अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् ।
राष्ट्रिय सुरक्षालाई आधार बनाउँदै ती देशहरुले अमेरिका प्रवेश गर्ने विदेशी नागरिकहरुसँग सम्बन्धित सम्भावित सुरक्षा वा आतंकवादी जोखिमको पहिचान गर्न आवश्यक यथोचित जाँच तथा स्क्रिनिङ प्रक्रिया पूरा गर्न नसकेको घोषणा पत्रमा उल्लेख गरिएको छ ।
घोषणा पत्रले थप ७ देशका नागरिकहरुका लागि पनि आंशिकरुपमा प्रवेशमा प्रतिबन्ध लगाएको छ । यी राष्ट्रहरुमा बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् ।
घोषणामा उल्लेख गरिएको अन्य मापदण्डहरुमा ती देशहरुको सूचना साझेदारी नीति, आतंकवादीको उपस्थिति, भिसा अवधि नाघ्ने दर, र फिर्ता पठाइएका नागरिकहरुलाई सहजरुपमा स्वीकार्ने तत्परता पनि समावेश छन् ।





