
उर्लाबारी, २ फागुन/मोरङको उर्लाबारी नगरपालिकामा अनलाइनबाट नागरिकताको सिफारिस सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको सहजीकरणमा नगरपालिकाले वडा नं ५ बाट सो सेवाको सुरु गरेको हो ।
नागरिकता प्राप्ति प्रक्रियालाई सहज बनाउने उद्देश्यले सेवा सुरु गरिएको बताउँदै नगर प्रमुख गंगा खरेलले चाँडै नै नगरका सबै वडाबाट यो सेवा सुचारु गरिने जानकारी दिए । नगरपालिकाले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउँदै जाने नीति लिएको उनले बताए ।
इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख महेशराज तिम्सिनाले नागरिकताको अनलाइन सिफारिस सेवाले नागरिकता प्राप्तिमा थप सहजता हुने जानकारी दिए ।
अनलाइनमा गएपछि नागरिकता सिफारिस प्रक्रियामा पारदर्शिता बढ्ने र सेवाग्राहीको समय तथा श्रम बचत हुने बताइएको छ ।