
उर्लाबारी, २० वैशाख/संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार बस्ने ७२ वर्षीय वृद्ध मीनबहादुर कुमालको सुपारी दिएर हत्या गरिएको छ ।
विगतको आपराधिक पृष्ठभूमि भएका कुमालको दुई किशोर प्रयोग गरी हत्या गरिएको हो ।
घटनाको ४ दिनपछि मीनबहादुर हत्याको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । हत्या अभियोगमा दुई महिला र दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
हत्या आरोपमा पक्राउ परेकी ४५ वर्षीया महिला मृतककै आफन्त हुन् । उनैको मुख्य योजनामा मीानबहादुरको हत्या भएको प्रहरीको भनाइ छ । ४५ वर्षीया महिलाले मीनबहादुरको हत्याका लागि १७ वर्षका दुई किशोरलाई प्रयोग गरेको खुलेको छ ।
हत्याका मुख्य योजनाकार ४५ वर्षीया महिला हुन् भने घटनामा १३ वर्षकी बालिका पनि पक्राउ परेकी छिन् । मीनबहादुरको हत्यामा बालिकाले पनि सहयोगी भूमिका खेलेको प्रहरीले बताएको छ ।
भोजपुर घर भई संखुवासभामा ग्यारेज र ट्र्याक्टरमा मजदुरी गर्दै आएका दुई किशोरलाई हत्यामा प्रयोग गरेको खुलेको छ । त्यसका लागि उनीहरूलाई २० हजारको सुपारी दिने निधो गरिएको थियो । तर ती किशोरले उक्त रकम नपाएको बताइएको छ । यी दुई किशोरले नै मीनबहादुरको घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।
पुरानो रिसइबी र जग्गासम्बन्धी विवादका कारण मीनबहादुरको हत्या भएको एक अनुसन्धान अधिकृत बताउँछन् । ‘मृतक मीनबहादुरको नाममा जग्गा थिएन । उनकी श्रीमती र छोराहरूको नाममा जग्गा थियो । उक्त जग्गासमेत बेचबबिखन गर्ने भनेपछि विवाद भएको देखिन्छ ।
मृतक मीनबहादुरका छोरा मलेसियामा बस्दै आएका छन् । यसअघि ती छोरालाई समेत उनले खुकुरी प्रहार गरेका थिए । छोरा घर फर्किए मारिदिनेसम्मको धम्की मीनबहादुरले दिने गरेको खुलेको प्रहरीले बताएको छ ।