दमक, २८ वैशाख/झापाको दमकमा शनिबार राति ट्रकको ठक्करबाट स्थानीय थकाली किचेनका कर्मचारी २२ वर्षीय अंकित लिम्बूको घटनास्थलमै मृत्यु भएको छ ।
दमक –१ रबि स्टेन्डको गेटमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे ८ प ४५५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका वडा न.–५ पापेथोक बस्ने लिम्बूको मृत्यु भएको हो ।
स्कुटरको पछाडी बसेकी पाँचथर मिक्लाजुङ गाउँपालिका वडा न.–४ बस्ने ४२ वर्षीया सिर्जना राई गम्भीर घाइते भएकी छन् । घाइते राईलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको छ ।
ठक्कर दिने ट्रक चालक इलाम सन्दकपुर गाउँपालिका वडा न. ३ बस्ने २५ वर्षीय रोशन केरुङ लिम्बूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले बताए । उनले लिम्बूमाथि सवारी ज्यानसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।





