टिकापुर, ७ असार/कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको हत्या भएको खुलेको छ ।
प्रहरीले नाथको हत्या गरेको अभियोगमा उनकै सहोदर देवर नवीन नाथलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले नवीनलाई पक्राउ गरिएको जानकारी दिए ।उनका अनुसार नवीनले सुनका गहनाका लागि आफूले भाउजु सुतेको बेला सिरानीले मुख च्यापेर हत्या गरेको बयान दिएका छन् ।भाउजुको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको अवस्थामा उनी फेला परेका छन् ।नाथ शुक्रबार बिहान घर नजिकैको नालामा मृत भेटिएकी थिइन् । उनको १६ दिनको नवजात शिशु भने सकुशल फेला परेको थियो
प्रहरीले बाहिर घाउचोट नदेखिएका कारण उनको मृत्युको कारण पत्ता लगाउन सकेको थिएन तर कानमा लगाएका गहना फेला नपरेपछि उक्त कोणबाट अनुसन्धान गर्दा हत्या भएको तथ्य फेला भेटिएको थियो ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नर सिंह रानाले जटिल अवस्थामा पुगेको घटनालाई सूक्ष्म अनुसन्धान गरेर सफलता प्राप्त भएको बताए ।
उनले जिल्ला र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको विशेष टोलीले घटनाको तथ्य उजागर गरेको बताएका छन् ।





