
उर्लाबारी, २३ वैशाख/धनकुटामा सोमबार अपरान्ह यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।
धरानबाट यात्रु बोकेर भोजपुरतर्फ गइरहेको को१ख २१७७ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ गोठगाउँमा सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका वडा नं १३ का ५१ वर्षीय रुद्र तामाङ, बसका यात्रु भोजपुरको भोजपुर नगरपालिका वडा नं ११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका– ६ का ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो । राईको घटनास्थलमै र तामाङ र श्रेष्ठको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।