सन्दीपहाङ नयोङहाङ लिम्बु
“मेरो चिना टापन केही छैन” चिना जोखानाको विषय निक्लने बितिक्कै पटक-पटक दोहोर्याइरहने वाक्य थियो मेरी बोजुको यो । यसो हुनका पनि कारण थिएछ।
त्यो वेलाको आम लिम्बू परिवारकोमा झै बनजेठा (मेरी बोजुको बुबा)मा पनि घर झगडा हुदा दुई जिउकी बनजेठी (मेरी बोजुको आमा) आफ्नो माइत तिरिङ्गे पुग्नुभएछ। लिम्बू समाजको चलन अनुसार बिना सल्लाह भागेर जाने श्रीमतीलाई लिन कि त स्वयम श्रीमान या देवर ससुराली जानुपर्छ, तर बनजेठा परे एक नम्बरका रिसाहा र घमण्डी, वहाले जाने कष्ट गर्नुभएन। उता तिरिङ्गेमा लोग्नेसंग झगडा गरेर आएकी दोजिया छोरीले राम्रै स्याहार चाकर पाउनुभयो । । संगसंगै सासुआमाले मनमा एउटा ईख लिनुभयो। यसपटक छोरीले पक्कै छोरा पाउछे (अघिल्लो पटक एउटी छोरी जन्मिसकेकि थिइ), त्यो वेलासम्म छोरीलाई माइतमै राख्छु। छोरा जन्मिएको सुन्ने बित्तिकै घमण्डी ‘बनजेठा’ ससुराली कसो नआउला?
वि.सं. १९९५ श्रावण १६ गते मेरी बोजु जन्मिनु भयो । वहाँ जन्मेसंगै मावलाकी बोजुको अभिमानले हार्यो। अनि ३-४ दिनमा भरिया खोजेर तिरिङ्गेबाट ताम्राङ्ग गाऊ रमाना गरिदिनुभयो। वहाको चिना न मावलीमा बन्यो न घरमै।
मलाई बोजुको सबैभन्दा पुरानो घट्ना सम्झनुपर्दा दुर्घट्ना याद आउँछ। सायद घट्नाहरू बिर्सिइन्छन याद रहने दुर्घट्ना नै हो। भएको के थियो भने, हाम्रो टाढे घर थियो। टाढेघरको भुईमा बाख्राको खोर थियो। दिउसोको समय भएकोले बाख्रालाई पगाह लगाएर बाहिर कतै राखिएको थियो। बाख्राको खोर माथि केही कोरा-बातीहरू थिए। म त्यहा आफ्नो गाउले साथी संग खेल्दै थिए। मैले त्यहा माथी आफ्नो सन्तुलन गुमाए र उत्ताने पछारिए। म जोडले रुन थाले। म रोएको मेरो बाजेले सुन्नुभयो, र मलाई रेस्क्यु गर्न आउनुभयो। तर वहाको मोटो ज्यान बाख्राको खोरको ढोकाबाट छिर्न सकेन। त्यसपछि बोजू भित्र आउनुभएर मलाई उठाएर लानुभएको याद छ। उक्त घाउको खत मेरो टाउको पछाडी अझै छ।
…………………..
बोजु ८६ बर्ष बाच्नुभयो। यसलाई सामान्यत लामो आयु नै मान्छु म। जति लामो आयु बाच्नुभयो त्यती नै उतारचढावपुर्ण पनि रह्यो वहाको जीवन ।
२०१६ सालमा ताप्लेजुङ्ग जिल्ला हाम्फाबुङ्ग गाऊ निवासी ‘पुर्णहाङ्ग लिम्बू’ संग विवाह पश्चात श्रीमती धर्म मान्दै एक छोरी लिएर मलाया(हालको मलेसिया) जानुभयो। त्यहा मेरो बुबा टंकबहादुर लिम्बू (हाल स्वर्गीय)लाई जन्म दिनुभयो। वहाको हाम्रो परिवारमा सबैभन्दा पहिलो इन्स्टिच्युस्नल डेलिभरीको सेवा लिने महिला पनि हुनुहुन्छ सायद। काठको बाकसको आइस राखेर बनाइएको आइसबकसदेखि रेफ्रीजेरेटर सम्म चलाउन सिक्नुभयो।
बाल्यकालमै बिफर(Vaccine derived Smallpox)को कारण आफ्नी साहिली बहिनी गुमाउनुभएकी मेरी बोजुले आफ्नो जीवनकालमा प्रशस्तै पारिवारिक वियोग विहोर्नुपर्यो । २०१६ मा किशोर भएका एक मात्र भाई गुमाउनुभएकी बोजुले सोही पिरको कारण बुबा पनि गुमाउनु पर्यो । आफुले जन्म दिएका सन्तानहरू मध्येमा दुईजना बाहेक केही नवजात शिशु त केही शिशुकालमा नै बितेर गए।
वि.सं. २०४९ सालमा आफ्नो पति गुमाउनुभयो भने बाचेका एक छोरा र एक छोरी पनि क्रमश: २०५२ र २०६५ सालमा गुमाउनुभयो। पटकपटक स्वजन गुमाउनुभएकी मेरी बोजु सधै भन्नुहुन्थ्यो “अब मलाई पालो देओ। अब पनि मेरो आँखा नभिजाइदेओ।”
……………………….
म अहिले वहाले आफ्नो अन्तिम श्वास फेर्नुभएको घरमा बसेर वोजुलाई सम्झिदैछु। “घर बनाउन कम्ता साह्रो छैन।मैले जती घर कसैले बनाएन होला। अब बनाउन नपरोस।” वोजुले सधै भन्नुहुन्थ्यो। वि.स. २०२५ सालमा बाजेको पेन्सन भयो र नेपाल फर्किनुभयो। पेन्सन आएपछि छोरालाई छुट्याइदिने त्यो बेलाको चलन अनुसार पेटभांडो अंश लिएर मेरा बाजे बोजु पनि छुट्टिनुभयो। अनि हाम्फाबुङको मुलघरबाट निक्लेर साङ्लुप्पामा एउटा घर बनाउनुभयो।
पहाडमा सधै धानको भात खान पुग्दैन थियो। मकै पनि खानपर्थ्यो तर मेरो बुबाले मकैको च्याख्ला खान्न भनेर झगडा गर्नुभएपछि मधेश झर्नुभयो। मोरङ्ग जिल्लाको इन्द्रेझोडा भन्ने ठाऊमा अर्को घर बन्यो। वि.सं.२०३१/३२ सालमा आगालागीमा परेर त्यो घर खरानी भएपछि सो ठाऊ भन्दा ४-५ कि.मि.उत्तर डाडाटोलमा बसाई सर्नुभयो। त्यहा अर्को बनाउनुभयो।
वि.सं. २०४९ सालमा सोही ठाऊमा पुरानो घरभन्दा करिब १०० मिटर पूर्व अर्को घर बनाउनुभयो। वि.सं. २०७५ सालमा आमाले डाडाटोलबाट केही कि.मि.उत्तर बसाई जाने प्रस्ताब ल्याउनुभयो। मैले उक्त प्रस्तावको जोडले प्रतिवाद गरे। त्यो वेला बोजूलाई नै समन्वय गरिदिदै भन्नुभएको थियो “घर बनाउन गाह्रो छ। तेरो आमालाई बनाउन दे।” वि.सं. २०७६ सालमा हाल बसेको घर उर्लाबारी न.पा.को नया सृजना टोलमा बन्यो । जुन घरमा बसेर मेरी बोजूले हामीलाई २०८१ पौष ३ गतेसम्म माया र संरक्षण दिनुभयो।
……………………..
२०४९ सालमा पति बिते पश्चात घरको मुलि बन्नुभएकी बोजू २०५२ सालमा एकमात्र छोराको दिवंगत भएपछि घरको मूल खाबो नै वन्नु पर्यो । युवाअवस्थाकी बिधुवा बुहारी, ७ बर्षका नाति र ५ बर्षकि नातीनीको संरक्षक बन्नुभयो । कुसल मार्गदर्शक बोजूलाई हामीलाई संस्कार सिकाउने कुरामा कुनै कसुर बाकी राख्नुभएन। अन्य ब्यक्तीलाई अभिवादन गर्ने मामिलामा हामीलाई कमाण्डो तालिम नै दिइएको थियो। सधै भन्नुहुन्थ्यो “नमस्कार गर्नु के भारी काम छ? आफ्नो दुइटा हात निधार अघि लगेर जोड्ने त हो नि।”
लिम्बू मातृभाषी बोजू मान्छेसंग मात्रै लिम्बूभाषामा बोल्ने होइन कुखुरा,बाख्रा लगायतका अन्य चौपायालाई समेत लिम्बूभाषामा कराउनुहुन्थ्यो। म आफू लिम्बूभाषा बोल्न नजाने पनि अरुले बोलेको बुझ्छु। यसको जश वहालाई नै जान्छ। भाषा भनेको हतियार जस्तै हो भनिन्छ, चलाएन भने खिया लाग्छ। वहाको अनुपस्थितीसंगै घरमा त्यस्तो सदस्यको अभाब भएको छ, जसले लिम्बूभाषामा कुरा गर्नुहुन्थ्यो। अब घरमा लिम्बुभाषामा संवादहरु सायदै सुनिनेछ।
………………..
हामी दुइपटक मर्छौ रे, एकपटक जब हाम्रो भौतिक शरीर अवसान हुन्छ अनि अर्कोपटक जब हामीलाई चिन्ने सबैको भौतिक शरीर अवसान हुन्छ।
मेरी बोजू तपाईको भौतिक शरीरको अवसान भयो तर मैले सुनेर बुझेका हरेक लिम्बू शब्दसंगै, मैले बोल्ने हरेक नमस्कारको अभिवादनसंगै तपाई हामी माझै रहनुहुनेछ।
अलविदा बोजू,
जहाँ रहेपनि खुसी साथ रहनुहोला।
यो जुनिमा तपाईको कतिपय ईच्छा चाहना पूरा गर्न सकिन होला। अर्को जुनिमा पूरा गर्नेछु ।
अर्को जुनि पनि तपाईकै नाति भएर जन्मन पाऊ।