उर्लाबारी, ४ जेठ/नेपालना अझै दुई सातासम्म वर्षाको सम्भावना रहेको मौसमविदले अनुमान गरेका छन् ।
जेठको १८–२० सम्मै वर्षा हुने मौसमविद विनोद पोखरेलले बताए ।
नेपालको मौसम प्रणालीमा पश्चिमी वायु सक्रिय छ। यसका अतिरिक्त स्थानीय वायुको पनि प्रभाव देखिएको छ। पछिल्लो समय बंगालको खाडी र अरब सागरतिरबाट जलवाष्पयुक्त हावा आइरहेकाले नियमित वर्षा भइरहेको छ। देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पछिल्लो १२ घन्टामा स्याङ्जामा १११.४, चितवनको शक्तिखोरमा ९३.८, कास्कीको लामापाटनमा ५०, स्याङ्जाको मलुङ्गामा ४९.४ मिलिमिटर वर्षा भएको छ।
देशका केही स्थानमा मध्यम वर्षा हुँदा नै क्षतिसमेत भएका छन्। काभ्रेपलाञ्चोकको पनौतीमा एक महिला बेपत्ता छिन्। वैशाख २९ गते गते रोशी तटीय क्षेत्रमा भेलबाढी आएको थियो। त्यहाँ शनिबार पनि बाढी आएको स्थानीयले बताएका छन्।
नेपालमा मनसुन कहिले भित्रन्छ भनेर विभागले आधिकारिकरूपमा भनिसकेको छैन। मनसुनको सुरूवाती विन्दुमा उत्पत्ति भइसकेको र क्रमशः फलिँदै आएकाले नेपालमा सरदरभन्दा छिटो मनसुन भित्रने अनुमान भने गर्न सकिन्छ। नेपालमा साधारणतया जुन १० (जेठ २७) मा मनसुन भित्रने गर्छ।
आगामी दुई सातासम्म नेपालभरि सक्रिय मौसम र धेरै क्षेत्रमा भारी वर्षा हुने सम्भावना देखाएको छ। वर्षा र हावाको ढाँचा मनसुनी वर्षा जस्तो देखिन्छ, यद्यपि यसलाई आधिकारिक रूपमा मनसुन भनिएको छैन,’ पोखरेलले भनेका छन्।
प्रि–मनसुनयाममा सरदर नै वर्षा भइरहेको छ। साधारणतया प्रि–मनसुन फागुन १७ देखि जेठ १७ गतेसम्मको अवधिलाई भनिन्छ। यो अवधिमा सरदर २२६.३ मिलिमिटर वर्षा हुने अनुमान गरिन्छ। जेठ २ गतेसम्मको अवधिमा १५३.९० मिलिमिटर वर्षा भएको छ। यो भनेको सरदरको ६७.२ प्रतिशत हो।
पछिल्लो समय दाङ, घोराही, भैरहवा, जुम्ला, नेपालगञ्ज, जनकपुर, धनकुटा, विराटनगर, ओखलढुंगा, धरानमा सरदरभन्दा बढी वर्षा देखिएको छ।
ताप्लेजुङ, पोखरा, काठमाडौं, जिरी, लुम्ले, जोमसोम, डडेलधुरा, धनगढीमा सरदरभन्दा कम वर्षा देखिएको छ।





