
उर्लाबारी, १ माघ/प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले आफू नेपाली भएकोमा गौरव लागेको बताएकी छन् । अनेकतामा एकता र एकतामा बिविधता भएकाले नेपाल साँस्कृतिक रूपले साँच्चै सुन्दर र सम्पन्न रहेको उनले बताइन् । पारस्परिक सदभाव, सम्बन्ध र सहिष्णुता नै नेपालीहरुको साझा पहिचान भएको उनको भनाई छ ।
लिम्बु समुदायको महत्वपूर्ण चाड ‘कक्फेवा तङनाम र यले तङ्बे ५०८३’ को अवसरमा आइतबार मोरङको उर्लाबारी–३ मा तेनेवा माङथान समितिद्वारा आयोजित कार्यक्रममा उनले भनिन् ।
हरेक जातीको संस्कृति र धर्म संरक्षण गर्नु राज्यको दायित्व भएको र नेपालीहरुबीच एकआपसमा सम्मान, बन्धुत्व र भाइचाराको सम्बन्ध कायम राख्नु नागरिकहरुको कर्तव्य भएको उनले बताइन् ।उनले म र मेरो भन्दा हामी र हाम्रो भावनाको विकास गर्नुपर्ने भन्दै वसुदैव कुटुम्ब कमको विकासमा जोड दिनुपर्ने बताइन् । प्रदेश संरचनालाई बलियो बनाउन प्रदेशका आम जनताको हक, हित तथा विकास र समृद्धिका लागि प्रदेश सरकारले काम गर्नुपर्ने बताइन।
कृषि, पर्यटन र जलस्रोतलाई उपयोग गरी प्रदेश १ को आर्थिक विकास गर्न सकिने धारणा राख्दै उनले यस प्रदेशमा रहेका सुन्दर हिमालहरुको महत्वका बारेमा समेत चर्चा गरिन् । प्राकृतिक रमणियताले भरिपूर्ण प्रदेश १ मा पर्यटन प्रर्बद्धन र हिमनदीबाट विधुत उत्पादन गरी अर्थतन्त्र मजबुद बनाउन सकिने उनको धारणा छ ।
विकेन्द्रीकरणको सिद्धान्तलाई भरपुर प्रयोग गर्न संघीय राज्य व्यवस्था अन्तर्गत नेपालमा तीन तहको सरकार निर्माण भएको उनले प्रष्ट पारिन् । सबैको साथ,सहयोग, सल्लाहबाटै आफूले पाएको जिम्मेवारी इमान्दारितका साथ निर्वाह गर्ने उनले बताइन् ।
प्रमुख अतिथि रहेकी उनले च्याब्रुङ बजाएर कार्यक्रम उद्घाटन गरेकी थिइन् । कार्यक्रममा किरात याक्थुङ चुम्लङकी नगर अध्यक्ष बानु सुब्बाले प्रदेश सभा सदस्य शोभालाई सम्मान गरेकी थिइन् ।
सोही कार्यक्रममा चुम्लुङकी केन्द्रीय सदस्य विमला पालुङ्वाले लिम्बु समुदायको संस्कृति संरक्षण र सम्बद्धनका लागि सबै एकजुट हुनुपर्ने र त्यसमा राज्यले सहयोग गर्नुपर्ने बताइन् ।
उर्लाबारी–३ का वडाध्यक्ष भिष्म बुढाथोकीले जातजातीहरु बीच सदभाव कायम राख्न मौलिक संस्कृति जगेर्णा गर्नुपर्नेमा जोड दिए ।
सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराईले नेपालमा बिभिन्न जातजाती र धर्मालम्बीहरु वसोवास गर्ने र लिम्बु समुदायको संस्कृति आफूलाई निकै रमाइलो लाग्ने बताए ।
नेपाल आदिवासी जनजाति महासंघका नगर अध्यक्ष सम्शेर लिम्बुले पहिचानको आधारमा प्रदेश १ को नाम ‘किरात लिम्बुवान’ नामाकरण गर्न माग गरे । समाजसेवी पारसमणी कुइंकेलले सरकारले कुनै जातीको धर्म संस्कृतिलाई माथि लाने र कसैको धर्म संस्कृतिलाई तल झार्ने काम गर्न नहुने बताए ।
चुम्लुङका प्रदेश सदस्य दिलु लिङदेनले पुर्खाहरुले मनाउँदै आएको चाड पर्वलाई विशिष्टकरण गर्र्दै प्रदेश १ का हरेक सामुदायिक विद्यालयहरुमा लिम्बु भाषा पठनपाठन व्यवस्था गर्न माग गरिन् । चुम्लुङकी नगर अध्यक्ष बानु सुब्बाले लिम्बु समुदायको भाषा र संस्कृति रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिँदै लिम्बु भाषालाई प्रदेश १ मा सरकारी कामकाजको भाषा बनाउन माग गरिन् । पूर्व जनप्रतिनिधि गञ्जबहादुर कार्कीले आफू वडाध्यक्ष हुँदा कक्फेवा तङनाम मनाउन सहयोग गरेको स्मरण गराउँदै अझैपनि सकेको सहयोग गर्ने आश्वासन दिए ।
तेनेवा माङथान समितिद्वका अध्यक्ष चन्द्र लुम्फुङ्वाको अध्यक्षतामा भएको सो कार्यक्रम हर्सोल्लासपूर्वक सम्पन्न भएको थियो ।
त्यस अवसरमा लिम्बु समुदायको लोकप्रिय धान नाच र च्याब्रुङ नाच नाचेर रमाइलो गरिएको थियो ।