
सयपत्री हाइड्रोपावरको आइपीओ आज (साउन २४ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइबीएल क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौमा बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यसको प्री–अलोटमेन्ट आइतबार (साउन २२ गते) सम्पन्न भएको छ । यता, सयपत्रीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।
यसमा मागभन्दा २५.७१ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ६७ हजार ५८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ५६ हजार ६४४ जनाको भने हात खाली हुनेछ । यसमा कुल १५ लाख २३ हजार ७०३ जनाले १ करोड ७२ लाख ४५ हजार ८० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ७२ करोड ४५ लाख ८ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।
सयपत्रीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ५% अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २% अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको थियो ।
बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने व्यवस्था रहेको थियो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । सयपत्रीले बाग्लुङ्ग जिल्लामा २.५ मेगावाटको ‘दरम खोला ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।