२०८१ चैत्र १०, सोमबार

‘सबैले हुन्छ मात्र भने तर काम गरेनन्’

२०८० जेष्ठ ११, बिहीबार
पढ्ने समय : 2 मिनेट

उर्लाबारी, ११ जेठ/वर्षायाममा मावा नदीको बाढीबाट जोखिम उत्पन्न हुने भएपनि सम्बन्धित निकायले त्यसतर्फ ध्यान नदिएको मोरङ, उर्लाबारी–७ शान्ति टोलका वासिन्दाले गुनासो गरेका छन् ।

विगत ६ वर्षदेखि निरन्तररुपमा आवाज उठाएपनि मावा नदी तटबन्ध हुन नसकेको स्थानीय चिराग राईले बताए । ‘सबैले तटबन्ध हुन्छ मात्र भने तर काम गरेनन्’, उनले भने ।

उर्लाबारी चोकदेखि करिब पाँच सय मिटर पूर्व मावा पुल दक्षीण यो समस्या देखिएको हो । त्यस स्थानमा तटबन्ध नगरे उर्लाबारी–७ को पूर्वी भेग नै जोखिमयुक्त रहेको उर्लाबारी क्लबका अध्यक्ष दिनेश श्रेष्ठको भनाई छ । ‘यहाँ तटबन्ध नगरे शान्ति टोल मात्रै होइन, यहाँदेखि दक्षीणको पूरै भाग जोखिममा पर्नेछ’, उनले भने ।

मावा पुल दक्षीण करिब ८२ मिटरमा बाँध निर्माण गरी ढुंगासहित तार जालीको स्पर निर्माण गर्न स्थानीयले माग गरेका छन् । ‘यस्ता माग हामीले धेरै गर्यौ, तर अहिलेसम्म समस्या जस्ताको त्यस्तै छ’, स्थानीय प्रकाश घिमिरेले भने, ‘नगरपालिका जाँदा बजेट छैन भन्यो ।’

यसैबीच प्रदेश साँसद शोभा चेम्जोङ पालुङवाले बिहीबार त्यस क्षेत्रको निरीक्षण गरेकी छन् । मावा नदी तटबन्धको विषयमा आफूले पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले नगर प्रमुख गंगा खरेलसँग त्यसविषयमा टेलिफोनमा कुराकानी गरेकी थिइन् ।

उता नगर प्रमुख खरेलले त्यस स्थानमा छिट्टै तटबन्ध गरिने बताएका छन् । ‘यो काम जेठ मै हुन्छ,’, खरेलले भने ।

‘मावा नदी तटबन्धका लागि नगरपालिकाले ढुंगा तारजाली खरिदका लागि रकम निकासा गर्छ, तर जनसमुदायले श्रमदान गर्नुपर्छ’, उनले भने ।

 

उर्लाबारी–७ मावा नदीमा एशियाली विकास बैंकको सहयोगमा गरिएको आकर्षक तटबन्ध ।

स्थानीयले मर्निङ वाक गर्ने मावा नदी किनारामा निर्माण गरिएको बाँध । यहाँदेखि केही दक्षीण झोलुगें पुल निर्माण, पुरै बाँधमा सोलार बत्ती जडान गर्न र होम पाइप बिछ्याउन स्थानीयले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार