२०८१ कार्तिक २५, आईतवार

चलचित्र जारी : प्रेम, आक्रोश र वेदनाको समिश्रण

२०८० बैशाख ३, आईतवार
पढ्ने समय : 2 मिनेट

लिम्बु दम्पतीबीचको माया प्रेम, आक्रोश र वेदनालाई चलचित्र ‘जारी’ मा चित्रण गरिएको छ ।
आफ्नी श्रीमती अर्कैसँग विवाह गरेर गएमा ससुराली मार्फत् जारी उठाउने चलन छ । अर्काकी श्रीमती लाने पुरुषले जारी तिर्नुपर्ने भएपनि ससुराली मार्फत् नै रकम असुल्नुपर्ने हुन्छ । श्रीमती दोस्रो पुरुषसँग गएपछि खासगरी विवाह खर्च वापत पहिलो श्रीमानले जारी लिने गर्छ । यो प्रथा दुई दशकअघिसम्म पूर्वी पहाडि जिल्लामा बसोवास गर्ने लिम्बु समुदायमा व्याप्त थियो ।

अब लागौं चलचित्र ‘जारी’ को कथाबस्तु तिर ।

हांग्मा (मिरूना मगर) र नामसाङ (दयाहाङ राई) दम्पत्ति हुन् । नामसाङ निकै झोक्की, रिसाहा र मुर्ख प्रवृत्तीको हुन्छ । उनी आफ्नी श्रीमती हांग्मालाई अनेक वहाना बनाएर गाली गर्छ र पिट्छ ।
फिल्मको सुरूआतमै नामसाङ (दयाहाङ) को एक संवाद छ– ‘मेरो घरमा त के अभासी भयो । न भैंसी ब्याउँछ न मान्छे ।’
विवाह भएको पाँच वर्ष भएपनि उनीहरूको बच्चा जन्मिदैन । यही निहुँमा नामसाङले श्रीमतीलाई ‘थारी आइमाई’ भन्दै गाली गर्छ । हांग्मा पनि रिसले चुरमुरिँदै जाइलाग्छे । नामसाङले एक फड्याङ हिर्काएपछि हांग्मा भुइंमा लड्छे । दुवै जनाबीच झगडा पर्छ । आफूलाई लात्ताले हान्न लागेपछि हांग्मा घर छाडेर माइत जान्छिन् ।
तर उनी आफूलाई श्रीमान लिन आउने आशमै हुन्छिन् । एक दिन मेलामा अर्काे युवकले पालाम जितेर हांग्मालाई आफ्नो घर लान्छ र विवाह गर्छ । पालाम लिम्बू समुदायको लोक गीत हो । यो विभिन्न सांस्कृतिक जमघट, विवाह र चाडपर्व जस्ता कार्यक्रममा गाइन्छ ।
हांग्माले अर्को बिहे गरेपछि नामसाङलाई जारी तिर्नुपर्ने हुन्छ । हांग्मालाई विहे गर्ने वित्तिकै उनको नयाँ श्रीमान परदेश लाग्छ । उता नामसाङ जारी उठाउन दलबल सहित हांग्माको माइत पुग्छ । हांग्माको माइती गरिब भएको कारण जारी तिर्न सक्दैनन् । जारी तिर्न नसकेपछि हांग्मा नामसाङको घरमा नोकर्नी भएर बस्न तयार हुन्छिन् ।
यो चलचित्र जारी प्रथाको मात्र होइन, जारी तिर्न नसक्दा नोकर बन्नु परेको दर्दनाक र कारुणिक कथा हो ।
निर्देशक उपेन्द्र सुब्बाले लिम्बू समुदायको प्रेम कथालाई सुन्दर तरिकाले प्रस्तुत गरेका छन् । लिम्बु समुदायका युवाहरुको आक्रोसलाई कलात्मक ढंगले प्रस्तुत गरिनु निर्देशक र कलाकारको खुबी हो ।
आफ्नी दिदी हाँग्माको दुःख र बेदना देखेर उनको भाई कान्छा रुन्छ । अन्त्यमा जारी बापतको ६० हजारसहित दिदी लिन दलबल सहित पुग्छ । नामसाङ र उनको बुबालाई थर्काएर घर फर्कन्छ । तर त्यतिखेर नामसाङ र हांग्माको पुनर्मिलन भइसकेको हुन्छ । उनीहरु एकअर्कालाई औधी माया गर्न थालिसकेका हुन्छन् । उनीहरुको पुनर्मिलनको मुख्य कारण नामसाङको सड्केको खुट्टाको उपचार हांग्माले गरिदिनु हो । नामसाङ आफ्नो साथीसँग चल्ने जिस्किने क्रममा डिलदेखि लडेर घाइते हुन्छ । घाइते भएपछि उ आफै घरमा उपचार गरिरहेको हुन्छ । त्यतिकैमा हांग्मा छेउमै गएर नामसाङको खुट्टामा औषधि लगाइदिन्छे । यसले गर्दा नामसाङको माया पलाउँछ । नामसाङ प्रायश्चित गर्दै रुन्छ । हांग्मा पनि नामसाङलाई अंगालो हाल्दै रुन्छे । त्यसपछि दुवैजना हाँसी खुशी साथ जीवन बिताउन थाल्छन् । तर विगतमा आफ्नो दिदीले पाएको दुःख सहन नसकी भाइ लिन आउँछ । हांग्मा पनि भाई सँगै माइत जान्छे । त्यसपछि नामसाङ आफ्नो बुबा (प्रेम सुब्बा) र साथीहरुसँग फेरी हांग्मालाई माग्न ससुराली पुग्छ । सालोले रिसले भेना नामसाङलाई काट्न खोज्छ । तर हांग्माले आफ्नो भाइलाई रोक्छे । यत्तिकैमा हांग्माले लगनगाँठो कसेको दोस्रो श्रीमान पनि त्यहाँ आइपुग्छ । रिसले चुर हुँदै आफ्नो जारलाई काट्न नामसाङ जाइलाग्छ । अन्त्यमा हांग्माले पालमामा जितेर आफूलाई लैजान भन्छिन् । नामसाङ रुँदै पालम भन्छ । त्यसपछि हाग्मा आफ्नो श्रीमान नामसाङसँगै घर फर्कन्छिन् ।
चलचित्रमा अभिनेत्री मिरूना मगरले राम्रो अभिनय गरेकी छन् । उनी लिम्बू समुदायको परिवेशमा घुलमिल भएकी छन् । चलचित्रमा दयाहाङदेखि विजय बरालसम्म सबै कलाकारको राम्रो अभिनय छ ।
चलचित्रले कहिले हसाउँछ, कहिले रूवाउँछ । केही दृश्य हँसाउनकै लागि पनि राखिएको छ । भैंसीलाई राँगो लगाउने दृश्य र संवाद यसको उदाहरण हो । जे होस् फिल्म राम्रो बनेको छ । त्यही भएर यसको व्यापार आक्रमक देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार