
उर्लाबारी २ चैत/नेपालको शैक्षिक वृत्तमा सर्वाधिक चासोको विषय रहने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले अहिले देशको माहोल तातेको छ । त्रिभुवन विश्व विद्यालयका ६२ आंगिक तथा एक सय ४० वटा सम्बधन प्राप्त क्याम्पसहरुमा आइतबार स्ववियु निर्वाचन हुँदैछ ।
स्ववियु निर्वाचनमा भाग लिएका विद्यार्थी संगठनहरुले प्रचार प्रसारलाई तीब्र बनाउनुका साथै प्रत्यक्ष भेटघाट गरी मत माग्न थालेका छन् । नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा एमालेनिकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राप्रवि संघ, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू र जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनले आसन्न स्ववियु निर्वाचनमा भाग लिएका हुन् ।
यसैक्रममा मोरङको उर्लाबारी बहुमूखी क्याम्पसमा प्रत्यक्षतर्फ २२ जनाको उम्मेदवारी परेको छ ।
नेविसंघका उर्लाबारी नगर सभापति विवेक कार्कीको नेतृत्व र अनेरास्ववियुकी मोरङ जिल्ला सदस्य प्रिती दाहालको नेतृत्व रहेको दुई विद्यार्थी समूहबीच निर्वाचनमा प्रतिस्पर्धा हुँदैछ । विवेकको नेतृत्वमा नेविसंघ एक्लै चुनावी मैदानमा उत्रिएको छ भने अनेरास्ववियुले अखिल क्रान्तिकारी, राप्रवि संघ, समाजवादीनिकट अनेरास्ववियू र समाजवादी विद्यार्थी युयियनसँग गठबन्धन गरेको छ ।
२५ वर्षिय विवेक र २३ वर्षिया प्रिती दुवैजना व्यवस्थापन संकाय स्नातक चौंथो वर्षमा अध्ययनरत छन् । अध्यक्षका प्रत्यासी विवेक र प्रितीले छुट्टाछुट्टै समयमा मावा टाइम्ससँग कुराकानी गर्दै निर्वाचनमा आ–आफ्नो जित निश्चित भएको दाबी गरेका छन् ।
उर्लाबारी–५ आर्शिवाद टोल निवासी विवेकले स्थानीय सुनगाभा आवासीय माविबाट २०७० सालमा प्रथम श्रेणीमा एसएलसी र २०७३ सालमा द्वितीय श्रेणीमा १२ कक्षा उत्तीर्ण गरेका थिए । हाल उनी उर्लाबारी बुहमूखी क्याम्पसमा विविएस चौंथो वर्षमा अध्ययनरत छन् ।
नेविसंघको तर्फबाट स्ववियु अध्यक्षमा उम्मेदवारी दिएका विवेकले आम विद्यार्थीहरुको साथ र सहयोगका कारण आफ्नो जित सुनिश्चित भएको दाबी गरे । ‘आम विद्यार्थीहरुको साथ र सहयोग मलाई छ, त्यसैले मेरो जित सुनिश्चित छ, बाँकी कुरा चुनावपछि थाह हुन्छ’, उनले भने ।
विगतदेखि नै विद्यार्थीहरुको हक, अधिकार र समस्या समधानका लागि लागिपरेकाले आफूलाई सबैले मत दिने उनको विश्वास छ । यदी विजयी भएमा आम विद्यार्थीहरुको हक अधिकारका लागि आवाज उठाउनुका साथै छात्राहरुलाई सेनेटिरी प्याड मेशिन वितरण र शौचालयमा एयर फिल्टर जडान गर्ने उनको योजना छ ।
अनेरास्ववियुको तर्फबाट स्ववियु अध्यक्षमा उम्मेदवारी दिएकी उर्लाबारी–३ मंगलबारे निवासी प्रितीले २०७२ सालमा तेह्रथुमको राम संस्कृत माविबाट ‘ए’ श्रेणीमा प्रवेशिका र २०७५ सालमा उर्लाबारी बहुमूखी क्याम्पसबाट १२ कक्षा उत्तीर्ण गरेकी थिइन् । हाल उनी पनि विविएस चौंथो वर्षमा अध्ययनरत छन् ।
विद्यार्थीहरुको हकहितका लागि निरन्तर लागिरहेको बताउने प्रितीले विगतमा आफ्नो संगठनले राम्रो काम गरेकाले विद्यार्थीहरुले आफूलाई मत दिने विश्वास व्यक्त गरिन् । यदी विजयी भएमा आम विद्यार्थीहरुको हकहितमा काम गर्नुका साथै गरीब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्तीको व्यवस्था गर्ने उनको योजना छ ।
त्यसैगरी स्ववियु सचिवमा नेविसंघका देवेन्द्र पौडेल र गठबन्धनका थानेश्वर अधिकारी तथा कोषाध्यक्षमा नेविसंघका भुवन श्रेष्ठ र गठबन्धनका भिमबहादुर मंग्रातीबीच प्रतिस्पर्धा हुँदैछ ।
त्यस्तै स्ववियु सदस्यमा नेविसंघका सुजन शंकर, दिपेश चौधरी, अन्जना न्यौपाने, सन्दिप बुढाथोकी, सुशिला कार्की, कहना विक, विनिता गौतम र विराट थापा तथा गठबन्धनका तर्फबाट चिराग श्रेष्ठ, दिवस ढुंगाना, हिक्मत थापा, शर्मिला चौलागाई, दीपेन्द्रबहादुर विश्वकर्मा, विनोद नेपाल, अजय खतिवडा र विश्वास राईले उम्मेदवारी दिएका छन् ।
यस वर्षको स्ववियु निर्वाचनका लागि उर्लाबारी बहुमूखी क्याम्पसमा एक हजार तीन सय ७० जना मतदाता रहेको निर्वाचन आयुक्त हस्तबहादुर भट्टराईले जानकारी दिए ।