मिक्लाजुङ, २२ फागुन/एकआपसमा रङ दलेर रमाइलो गरिने होलीको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ ।हिन्दु पौराणिक कथामा आधारित होलीले सामाजिक सदभावलाई समेत बढवा दिएको छ । होलीले राष्ट्रिय एकतालाई बलियो बनाएको मात्र छैन, मनोरञ्जनको दुनियाँमा युवा वर्गलाई आकर्षित समेत गरेको छ ।
के पहाड, के तराई, के गाउँ र के सहर सबैतिरका युवायुवतीहरु होलिको अवसरमा रङहरुले रंगिने गरेका छन् । यसैक्रममा पूर्वोत्तर मोरङको मिक्लाजुङ–३ नेशेलुङमा सोमबार ‘होली विशेष शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम’ आयोजना गरियो । पर्यटकीय स्थलन्मुख भ्यु टावर रहेको नेशेलुङमा पहिलोपटक याक्थुङ समाजले होलीको अवसरमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमकी प्रमुख अतिथि प्रदेश साँसद शोभा चेम्जोङ पालुङवाले बिभिन्न किसिमका सभ्याता रहेको नेपालमा होलीको आफ्नै किसिमको विशेषता रहेको उल्लेख गरिन् । होलीले मानवीय प्रवृत्तीको विकास हुने कुरामा विश्वास व्यक्त गर्दै उनले बिभिन्न जातजाती बीच एकआपसमा गर्ने सम्मान, भाइचारा र बन्धुत्वको सम्बन्ध अझ प्रगाढ र विकसित हुँदै जाओस् भनी शुभकामना दिइन् । उनले नेशेलुङको पर्यटन प्रबद्धन र स्थानीय समस्या समधानका लागि आफ्नो पहल रहने र त्यसका लागि सबैको साथ सहयोग आवश्यक पर्ने बताइन् ।
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबी राईले नेशेलुङको विकास र विस्तारका लागि आफ्नो सहयोग रहने बताउँदै होलीको शुभकामना दिए ।
समाजका अध्यक्ष खगेन्द्र मादेनको सभापतित्वमा भएको सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिनेश पौडेल, एमाले गाउँ सचिव नविन कार्की, मिक्लाजुङ–७ का वडाध्यक्ष शुशिलराज चौहान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च निकट एलभी कमाण्डर गणेश मिभक, कालिका माध्यमिक विद्यालयका प्रधानध्यापक मातृका न्यौपानेलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
समाजका सचिव प्रवेश मिभकले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन चन्द्र सङमीले गरेका थिए । कार्यक्रममा गायिका सविना योङहाङ र हाँस्य कलाकार यज्ञ कटवाल ‘चुप्पी डन’ले आ–आफ्नो प्रस्तुति दिएका थिए ।