उर्लाबारी, ६ असोज/उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले एक वर्षमा १ करोड १६ लाख ६४ हजार ४८२ रुपैयाँ बचत गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७८/०७९ मा उक्त रकम बचत गरेको हो ।
संस्थाको बिहीबार उर्लाबारी–५ स्थित श्रीसगरमाथा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित २० औं साधारणसभामा उक्त जानकारी गराइएको हो ।
साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव मेघराज श्रीपालीले हालसम्म उर्लाबारीका २ र ३ वडा बाहेकका सबै वडामा ५ हजार ५२५ धारा जडान भएको बताए ।
ती वडाका विभिन्न ठाउँमा गरी दुई सय ५५ दशमलब आठ सय ८६ किलोमिटर पाइपलाइन बिस्तार गरिएको संस्थाका कार्यलय प्रमुख राजु बुुुुुुुुढाथोकीले जानकारी दिए ।
साधारणसभाका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले नगरका ९ वटै वडाबासीलाई शुद्ध खानेपानी पुरयाउने अभियानमा नगरपालिका लागेको बताए ।
साधारणसभामा सञ्चारकर्मी जगन्नाथ भट्टराईलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । भट्टराई पुर्वज्योति साप्ताहिकका सम्पादक हुन् ।
संस्थाका अध्यक्ष चिन्तामणी पौड्यालको अध्यक्षतामा भएको सो साधारणसभामा संघीय खानेपानी तथा ढल निकास आयोजना विराटनगरका प्रमुख चोकप्रसाद धिताल, खानेपानी महासंघ नेपालका केन्द्रीय सदस्य सूर्यप्रसाद गुरागाई, संस्थाका पूर्वअध्यक्ष भूपाल सिं जिमी, उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, नेपाली काँग्रेस नगर सभापति सुरेन्द्र लिम्बू, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष गजेन्द्र दंगाल, राप्रपा नगर अध्यक्ष देवीप्रसाद दाहाल, जसपा नगर अध्यक्ष मात्रिका धिमाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नगर अध्यक्ष चन्द्रबहादुर पालुङ्वा, कार्यपालिका सदस्य कृष्ण वर्देवालगायतले शुभकामना मन्तव्य राखेका थिए ।