सोमबारदेखि वायुसेवा कम्पनीका विमानहरुको उडान अनुमतिपत्र अनुसार नै रात्रिकालीन पार्किङ (बिसान) थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्ने भन्दै ७ असारदेखि आन्तरिक उडान गर्ने हेलिकप्टर र विमानलाई उडान अनुमतिपत्रले तोकेको विमानस्थलमै राख्नुपर्ने गरी सर्कुलर जारी गरेको थियो ।
त्यसैअनुसार सोमबार साँझबाट विभिन्न वायुसेवा कम्पनीका विमानले धनगढी, नेपालगञ्ज, विराटनगर लगायतका विमानस्थलमा रात्रिकालीन बिसान गरेका छन् । उनीहरुले सोही विमानस्थलबाट पहिलो उडान पनि भरेका छन् ।
दुई दिनको समय दिएर धेरै वायुयानलाई उपत्यकाबाहिर रात्रि बिसान गर्न जानुपर्ने व्यवस्था गरेपछि वायुसेवा सञ्चालकहरु आन्दोलित भएका थिए । तर, नेपाल वायुसेवा सञ्चालक संघसँग प्राधिकरणले सम्वाद गरेर निर्णय कार्यान्वयन गर्ने बाटो खोलेको थियो ।प्राधिकरणका सूचना अधिकारी तथा उडान अनुमति शाखाका उपप्रवन्धक ज्ञानेन्द्र भुलका अनुसार मोफसलमा रात्रि बिसान गर्नुपर्ने करिब ९० प्रतिशत विमानहरुले सोमबार काठमाडौं छाडेको बताए । प्राविधिक कारणबाहेकको अवस्थामा अब तोकिएकै विमानस्थलमा विमानहरु रात्रि बिसानमा जाने उनले बताए ।उनका अनुसार मंगलबार बिहान रात्रि बिसान गरेको विमानस्थलबाट भएको पहिलो उडानमा अधिकांश वायुयानले ‘फूल अकुपेन्सी’ पाएका छन् । ‘हिजोबाट प्राधिकरणको निर्णय कार्यान्वयनमा गयो,’ उनले भने, ‘सौर्य एयरलाइन्सको एउटा विमान प्राविधिक कारणले बाहिर जान सकेन । अब सबै विमानहरुले अब रात्रि बिसान तोकिएअनुसार नै गर्छन् । ‘
प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको पार्किङ क्षमता १७ वटा जहाजका लागि हो । तर अहिलेसम्म ५२ वटा जहाज पार्किङ गरिरहेका थिए ।
आन्तरिक वायुसेवा कम्पनीले काठमाडौं केन्द्रित उडान गर्दा होल्ड, डिलेदेखि टर्मिनल भवनमा भिडभाड भएको जस्ता समस्या देखिएको थियो । यसलाई समाधान गर्न भदै प्राधिकरणले ११ वैशाख २०७९ मा अध्ययन कार्यदल बनाएको थियो ।
कार्यदलमा प्राधिकरणको तर्फबाट त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरसहित ७ जना र वायुसेवा कम्पनीका तर्फबाट बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमाल, श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधीर मित्तलसहितका प्रतिनिधि थिए ।
प्राधिकरणका अनुसार कार्यदलले उडान अनुमति दिँदा सम्बन्धित विमानको रात्रि बिसानको आधार विमानस्थल (जहाँबाट बिहान पहिलो उडान हुन्छ) मै रात्रिकालीन बिसान (पार्किङ) गर्ने व्यवस्था गर्नुपर्ने सिफारिस गरेको थियो । त्यही आधारमा ५ असारमा सर्कुलर जारी गर्दै हेलिकप्टर कम्पनीले ७ असारदेखि तोकिएको आधार विमानस्थलमा रात्रि बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नपर्ने बतायो । हवाइजहाज सञ्चालक कम्पनीहरुले भने १३ असारदेखि तोकिएको आधार विमानस्थलमा रात्रि बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने सर्कुलर थियो ।
सूचना अधिकारी भुलका अनुसार हेलिकप्टरहरुको रात्रि बिसानमा केही समस्या देखिएका छन् । त्यसलाई समाधान गर्ने उपाय पहिल्याउन त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरको अध्यक्षमा एक समिति बनाइएको छ ।‘समितिको अध्धयन प्रतिवेदनअनुसार हेलिकप्टरको रात्रि बिसानको निर्णय कार्यान्वयनमा जान्छ,’ उनले भने ।