
रुस–युक्रेन युद्धबाट विस्थापित बालबालिकालाई सहयोग गर्न रुसी अखबार नोभाया गजेटाका प्रधान सम्पादक दिमित्री मुराटोभले नोबेल शान्ति पुरस्कार पदक बिक्री गरेका छन् । उक्त पदक लिलामी प्रक्रियाद्वारा अमेरिकामा १०३ दशमलव ५ मिलियन अमेरिकी डलरमा बिक्री भएको हो ।
मुराटोभले उक्त रकम पोल्यान्ड, रुस, जर्मनी, मोल्दोभा, स्लोभेनिया, चेक रिपब्लिक र हंगेरीलगायत देशमा रहेका युक्रेनी शरणार्थीहरूलाई सहयोग गर्न युनिसेफलाई दिइने बताएका छन् । मुराटोभ र मारिया रेसाले संयुक्त रूपमा सन् २०२१ को नोबेल शान्ति पुरस्कार पाएका थिए । अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने उनीहरूको प्रयासका लागि नोबेल समितिले पुरस्कार प्रदान गरेको थियो ।
मुराटोभले युद्धबाट विस्थापित युक्रेनी बालबालिकालाई सहयोग गर्ने अभियानमा सहयोग पुर्याउन विश्व समुदायलाई आग्रहसमेत गरेका छन् । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता ६९ लाख विस्थापित भइसकेका छन् । तीमध्ये ५८ लाखले शरणार्थीका लागि विभिन्न देशमा आवेदन दिएका छन् । २१ लाख स्वदेश फर्किसकेका राष्ट्रसंघीय शरणार्थी निकायले जनाएको छ । कम्तीमा ८० लाख युक्रेनी भने देशभित्रै विस्थापित भएका हुन् ।
विस्थापित भएकामध्ये ९० प्रतिशत महिला र बालबालिका छन् । युद्धका कारण देश छाडेकामध्ये सबैभन्दा बढी पोल्यान्ड पुगेका छन् । अन्य विस्थापितहरू रोमानिया, रुस, हंगेरी, मोल्दोभा, स्लोभाकिया र बेलारुस पुगेका छन् । त्यस्तै, स्पेन र चेक गणतन्त्रमा पनि केही शरणार्थीका रूपमा छन् । युद्ध चर्कंदै गएपछि पोल्यान्ड, हंगेरी र स्लोभाकियाले युरोपेली संघअन्तर्गतका देशका लागि सीमा खुला गरेका कारण कतिपय विस्थापित अन्य देशमा पुगेका छन् । संघले युक्रेनबाट विस्थापितलाई ३ वर्षसम्म सदस्य राष्ट्रमा बस्न र काम गर्न पाउने अधिकार दिएको छ ।