
उर्लाबारी, २८ जेठ/मोरङको उर्लाबारीमा तीन दिने फुड फेस्टिवल आयोजना गरिनेभएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद उर्लाबारीको आयोजनामा आगामी असार ३,४ र ५ गते फुड फेस्टिवल आयोजना गर्न लागिएको हो । स्थानीय उर्लाबारी पार्टी प्यालेसमा फुड फेस्टिवल आयोजना गरिने आइतबार परिषदद्वारा आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फुड फेस्टिवलमा आदिवासी जनजातिहरुका मौलिक खाना, कला र संस्कृति प्रदर्शन गरिने परिषदका नगर अध्यक्ष मणिलाल श्रेष्ठले जानकारी दिए ।
उर्लाबारीमा फुड फेस्टिवल आयोजना गर्न लागिएको यो दोस्रोपटक हो । यसअघि २०७३ सालमा उर्लाबारी उद्योग वाणिज्य संघले पनि फुड फेस्टिवल आयोजना गरेको थियो । त्यसवेला उर्लाबारीको व्यापार व्यवसाय प्रबद्धन गर्ने उद्देश्यले फुड फेस्टिवल आयोजना गरिएको थियो । तर यसपटक भने बिभिन्न १४ जात–जातीका मौलिक पहिचान प्रचार प्रसार गर्ने उद्देश्यले फुड फेस्टिवल आयोजना गरिएको हो । ‘आदिवासी जनजातिहरुको पुस्तौंदेखिको प्राकृतिक जडीबुटीसहितको खानपिनहरुको प्रबद्धन र बजारीकरणका लागि फुड फेस्टिवल आयोजना गर्न लागिएको हो’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जनाइएको छ ।