
उर्लाबारी, २७ जेठ/मोरङको उर्लाबारी नगरपालिका वडा नं.७ मा बेवारिसे अवस्थामा भेटिएका विमारीलाई आफन्तको जिम्मा लगाइएको छ ।
बेवारिसे अवस्थामा फेला परेका सुनसरी, इटहरीका अन्दाजी ३३ वर्षिय विशाल लिम्बूलाई उपचारका लागि उर्लाबारी–७ की समाजसेवी ममता आले मगर, सविता धिमाल, सञ्चारकर्मी सरोज बस्नेत र कुमार खड्काको पहलमा उर्लाबारी–३ स्थित मदन भण्डारी ट्रमा सेन्टर तथा अस्पताल लगिएको थियो । सञ्चारकर्मी बस्नेतले सामाजिक सञ्जालमा विमारीको तस्बीर पोष्ट गरेपछि आफन्तहरु सम्पर्कमा आएका थिए । कामको सिलसिलामा ताप्लेजुङ गएका विशाल एक सातादेखि हराएको आफन्तहरुले जानकारी दिएका छन् ।
यसअघि आफन्तले विभिन्न स्थानहरुमा खोजी कार्य गरेपनि विशाल फेला परेका थिएनन् । तर सामाजिक सञ्जालमा शुक्रबार विमारी विशालको तस्विर पोष्ट गरेको देखेपछि आफन्त सम्पर्कमा आएको समाजसेवी मगरले जानकारी दिइन् ।
सो अस्पतालले विशालको उपचार निःशुल्क गरेको छ । उनलाई थप उपचारका लागि धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिने आफन्तले बताएका छन् ।