लघुवित्त कम्पनीहरुले धमाधम थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्दै छन् । अहिले नेपाल धितोपत्र बोर्डमा ६ कम्पनीले एफपीओ निष्कासनका लागि अनुमति मागेका छन् भने अरु धेरै कम्पनीले आफ्नो साधारण सभाबाट एफपीओ निष्कासन प्रस्ताव पारित गरेका छन् । विशेषतः मर्जर–एक्विजिसनमा गएका लघुवित्त वित्तीय संस्थाले सेयर संरचना मिलाउन एफपीओ जारी गर्न लागेका हुन् ।
अहिले बोर्डमा किसान, मिर्मिरे, युनिक नेपाल र नयाँ सारथी लघुवित्तले एफीओ जारी गनका लागि अनुमति मागेका छन् । यी कम्पनीहरुले २० लाख ५८ हजार ६४९ कित्ता बराबरको एफपीओ निष्कासन गर्न बोर्डमा अनुमति मागेका हुन् । यीमध्ये युनिक नेपाल लघुवित्तले आइपीओकै भाउ अर्थात् १०० रुपैयाँमा (प्रतिकित्ता) एफपीओ जारी गर्न अनुमति मागेको छ भने मिर्मिरे लघुवित्तले प्रतिकित्ता १७७ रुपैयाँ ८ पैसामा एफपीओ जारी गर्न अनुमति मागेको छ ।
त्यस्तै, किसान लघुवित्तले १२५ रुपैयाँ र नयाँ सारथी लघुवित्तले ११६ रुपैयाँका दरले एफपीओ निष्कासनको लागि अनुमति मागेका छन् । यी सबै कम्पनीले उक्त भाउमा नै बोर्डले एफपीओ जारी गर्न अनुमति दिएमा ३२ करोड २० लाख ३ हजारभन्दा धेरै रकम बारबारको एफपीओ जारी हुनेछ ।
त्यस्तै, महुली सामुदायिक लघुवित्त, एनआरएन लघुवित्त, समिट लघुवित्तलगायतले पनि आफ्नो साधारण सभाबाट एफपीओ निष्कासन प्रस्ताव पारित गरिसकेका छन् । अब विस्तारै यी कम्पनीले पनि एफपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाउने छन् ।
एफपीओ निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेका कम्पनीहरु
किन जारी गर्दै छन् लघुवित्त कम्पनीहरुले धमाधम एफपीओ ?केन्द्रीय बैंकले लघुवित्त कम्पनीहरुको पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्कासनमा कडाई गरेको छ । योसँगै केही समय पहिले लघुवित्त कम्पनीहरुमा मर्जर तथा एक्विजिसनको चटारो चल्यो । मर्जर तथा एक्विजिसन गर्ने क्रम अहिले केही घटेसँगै पुँजी वृद्धि तथा सेयर संरचना (संस्थापक र सर्वसाधारण हिस्सा) मिलाउन पनि लघुवित्त वित्तीय संस्थाहरु एफपीओ निष्कासन तयारीमा लागेका हुन् ।अहिले विशेषगरी एफपीओ ल्याउने तयारीमा जुट्नुमा एउटा प्रमुख कारण भनेको मर्जर तथा एक्विजिसनपछि कायम पुँजी संरचना मिलाउनु नै हो । कतिपय लघुवित्तले सूचीकृत नभएका कम्पनीहरुलाई मर्ज तथा एक्वायर गरेका छन् । जसका कारण मर्ज तथा एक्विजिसनपछि सर्वसाधारण र संस्थापक हिस्सा मिलाउन पनि ती कम्पनीहरुलाई एफपीओ ल्याउनैपर्ने बाध्यता रहेको छ ।त्यसबाहेक कतिपयले नियामक निकायबाट अनुमति पाएमा पुँजी वृद्धिका लागि स्वतःस्र्फुत रुपमा पनि एफपीओ ल्याउन इच्छुक देखिएका छन् । नेपाल राष्ट्र बैंकद्वारा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको निर्देशन, २०७७, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३, कम्पनी ऐन, २०६३, धितोपत्र निष्कासन तथा बाँडफाँटसम्बन्धी निर्देशिकाबमोजिम हुने गरी लघुवित्त वित्तीय संस्थाहरु एफपीओ निष्कासन गर्ने प्रक्रियामा लागेका हुन् ।





