
चितवनमा शुक्रबार साँझ आएको हावाहुरीले रूख ढलेर सवारी साधन किच्दा तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साँझ सात बजे आएको हावाहुरीका कारण भरतपुर महानगर- ११ भोजाड जंगल स्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूखले किचेको थियो।
अटो च्यापिँदा चालक भरतपुर ११ लामाटोल बस्ने अन्दाजी ५० वर्षका प्रदीपकुमार लामा र अटोमा सवार नामथर नखुलेकी महिलाको घटनास्थलमै मृत्यु भएको छ। अटोमा सवार अरू दुई जना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरू सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको छ।
हावाहुरीका कारण ढलेको रूखले भरतपुर-११ बसेनी चोकमा विशाल चोकबाट बसेनीतर्फ आउँदै गरेको ना १ ज ६१४० नं. को म्याजिकलाई किच्दा म्याजिकमा सवार भरतपुर-११ बस्ने बर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ।
हावाहुरीका कारण भरतपुरका विभिन्न स्थानमा बिजुलीका पोल ढलेका छन्। क्षतिको विस्तृत विवरण आउन बाँकी छ।