उर्लाबारी, २६ वैशाख/नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिष्टले जिते पाँच वर्ष रोएर विताउने दिन आउने बताएका छन् । त्यसैले कांग्रेस उम्मेदवारलाई जिताउन सबैजना एक ढिक्का हुनुपर्ने उनले बताए ।्
मोरङको उर्लाबारी–७ स्थित वरगाछीमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् । कांग्रेसबाट निर्वाचित प्रत्येक जनप्रतिनिधिको जिम्मा पार्टिले लिने उनले बताए । स्थानीय तहका लागि पार्टीले ११ वटा मन्त्र बनाएको महामन्त्री थापाले सुनाए । उनले भने, ‘नेपाली कांग्रेसले जितेका स्थानीय तहमा ११ वटा मन्त्र अनुसार काम हुनेछन् ।’ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारीलगायतका क्षेत्रमा के के काम गर्ने भन्ने कुरा निक्र्याैल गरेर विकासलाई अगाडि बढाउने उनले बताए । ‘कांग्रेसबाट निर्वाचित मेयर अब मेयर साव हुँदैन’ महामन्त्री थापाले भने, ‘अब मेयर जनताको बीचमा बस्ने छ ।’ पाँच वर्ष काम गरेर परिचित भइसकेका खड्ग फागोलाई पुनः मेयरमा जिताउन उनले उर्लाबारीवासीलाई आग्रह गर्दै भने, ‘कांग्रेसका उम्मेदवारलाई जिताउनुहोस् उर्लबारीको विकासको जिम्मा पार्टीले लिन्छ ।’ महामन्त्री थापाले व्यक्तिगतरुपमा चिढिएका कांग्रेस कार्यकर्तालाई पनि चुनावमा सहयोग गर्ने आग्रह गरे ।
फागोका नगर विकासका योजना आफूले सुनेको बताउँदै थापाले भने, ‘उहाँको काम गर्ने इच्छा सुनेको छु । विगतमा असहयोग हुँदा हुँदै पनि उल्लेखनीय कार्य गर्न सक्नुभयो ।’ पाँच वर्ष काम गर्ने क्रममा प्रदेश सरकारले लगातार असहयोग गरेको र संघीय सरकार अनुदार भएका कारण काम गर्न समस्या परेको उनले बताए ।
सभालाई सम्बोधन गर्दै उर्लाबारीको मेयर पदका उम्मेदवार खड्ग फागोले पाँच वर्षे कार्यकालमा आफूले साढे ३१ महिना मात्र काम गर्न पाएको बताए । उर्लाबारीको विकास र समृद्धिका लागि कटिबद्ध भएर लाग्दा आफूमाथि विभिन्न अनर्गल प्रचार भएको बताउँदै फागोले नगरको विकासमा सिंह हुनु परे पनि तयार रहेको बताए ।
आफू नगर प्रमुख रहँदा एक रुपैयाँ भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको उनले बताए । विपक्षीहरुले आफूमाथि विभिन्न भ्रम सिर्जना गरेको बताउँदै उनले सत्य कुराको पछि लाग्न नगरवासीलाई आग्रह गरे ।
विगतमा अल्पमतमा परेका कारण भनेजस्तो विकास गर्न नपाएको भन्दै फागोले अबको निर्वाचनमा बहुमतले निर्वाचित गराउन अनुरोध गरे ।
सभामा कांग्रेसका केन्द्रीय सदस्य तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, काँग्रेस मोरङ क्षेत्र नं. १ का सभापति शंकर राई, उपमेयरकी उम्मेदवार सीता कार्कीलगायतले कांग्रेस कार्यकर्ता एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कांग्रेस नगर सभापति सुरेन्द्र लिम्बूको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन नगर उपसभापति राजु लामाले गरेका थिए ।