२०८१ भाद्र २४, सोमबार

को हुन् तिलक पाण्डे ?

२०७९ बैशाख १८, आईतवार
पढ्ने समय : 2 मिनेट

उर्लाबारी, १८ वैशाख/बुवा हर्कबहादुर पाण्डे र आमा मनमायाको जेठा छोराको रूपमा वि.स.२०३२ साल फागुन ८ गते जन्मिएका हुन् तिलक पाण्डे । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उर्लाबारी–१ बाट उनी वडाध्यक्ष पदका सशक्त उम्मेदवार हुन् । सालिन, भद्र र सहयोगी भावना भएका पाण्डेका अगाडि अन्य उम्मेदवार फिक्का देखिएका छन् । उसैपनि उर्लाबारी १ नम्बर वडा एमालेको ‘बाघखण्ड’का रूपमा रहिआएको छ । त्यस वडाको नेतृत्व नगुमाउने योजनाका साथ एमाले अघि बढेको छ । हालसम्म लक्ष्मीझार, माथ्लो कत्ले, कोपिला चौक, मिलन चौक, चिसापानीलगायतका घरदैलोमा एमाले उम्मेद्वारप्रति ब्यापक जनलहर उर्लिएको छ । तीन खोप्रे, चारघरे, पीपलडाँगी, हिलेडाँगी, मेचेडाँगी, दिङ्ले चौक, बयरडाँगी, अविरल चौक, टप्पु, सीमाना वस्ती, झारसाँदी, बिहीबारे, खयरभट्टी, डाडाँगाउँ, धाउन्ने चौक तथा सुकुमवासी टोलहरुका घरलौरी सुर्यध्वजावाहक उम्मेदवारलाई जिताउन आतुर रहेको एमाले उर्लाबारी नगर प्रचार प्रमुख मदन दाहालले बताए ।

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका मेयरका उम्मेदवारलाई एमालेले त्यस वडामा फराकिलो मतान्तरले उछिनेको थियो । विगतको सांगठनिक विरासतलाई कायम राख्नुपर्ने एमाले सामु चुनौती छ । २०७४ को निर्वाचनमा एमालेले वडामा जित हात पारेपनि पार्टीबाट विजयी वडाध्यक्ष उम्मेदवारले सिंगो पार्टी र मतदातालाई ‘धोका’ दिएका कारण आफूप्रति जनहितमा काम गर्ने गहन अभिभारा आइपरेको पाण्डे बताउछन् । ‘एमालेको मतबाट जितेर जनविरोधी कित्तामा लागेका व्यक्तिहरु फरक चिन्ह लिएर पुन ः भोट माग्न थालेका छन्’ पाण्डेले भने, ‘त्यस्ता छद्मभेषी व्यक्तिहरुप्रति न्यायप्रेमी जनता सजग र सचेत हुन जरुरी छ ।’ चुनाव जित्ने पहिलो आधार संगठन हो । एमालेले १ नम्बर वडाका सबै टोलमा टोल कमिटी गठन गरिसकेको पार्टीका नगर प्रचार प्रमुख दाहाल बताउछन् । उनले भने – ‘विपक्षीहरु एमालेविरुद्ध मात्र होइन, विकासका गतिलाई समेत अघि बढ्न नदिने गरी विभिन्न रूपरङमा देखिएका छन् । उनीहरु भ्रम फैलाएर भोट बटुल्न मात्र लागिपरेको स्थानीयबासीले बुझेका छन् । त्यसैले आम मतदाताहरु विखण्डनकारी तत्वको विपक्षमा हुनुहुन्छ ।’ १ नम्बर वडामा एमालेको विरासत तोड्न माओवादी, जसपा र एकीकृत समाजवादीले चुनावी तालमेल गरेपनि त्यो अपवित्र गठबन्धन भएको भन्दै उनीहरुलाई तेस्रो स्थानमा सीमित गर्ने पाण्डेले प्रक्षेपण गरे । उनी भन्छन् –‘हाम्रो प्रतिस्पर्धी कांग्रेस हो तर उपनि दोस्रो हुन संघर्ष गरिरहेको अवस्था छ ।’ जेष्ठ नागरिकको आशिर्वाद रहेकाले आफ्नो जीत निश्चित भइसकेको पाण्डले दावी गरे ।


किशोरावस्थामै राजनीतिक सुझबुझ बटुलेका पाण्डेले गाउँकै शारदा माध्यमिक विद्यालयबाट झाँरसादीबाट प्रारम्भिक शिक्षा थालनी गरेका हुन् । मनोहर जनता मावि मधुमल्लाबाट एसएलसी उतीर्ण गरेका उनले सुकुना बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हाँसिल गरेका छन् । एमाले भातृ संगठन युवा संघमा आबद्ध भएर राजनीतिमा जोडिएका पाण्डे हाल एमाले उर्लाबारी नगर कमिटी सचिवालय सदस्यको भुमिकामा छन् ।
तत्कालिन मधुमल्लाको ८ नम्बर वडामा शिक्षालयको अभाव थियो । उनकै पहलमा मेचेडाँगी भन्ने ठाउमा हालको बालज्योती आधारभुत प्रावि स्थापना भएको हो । स्कुल स्थापनामा अग्रणी भुमिका खेलेका पाण्डेले सोही विद्यालयमा पाँच वर्ष अध्यापन समेत गरेका थिए । यसअघि वडामा नभएका कार्यहरु जस्तै निःशुल्क पशु बिमा, गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा पढाउन सहयोग गरिने, कृषिको आधुनिकीकरण र व्यावसायिकरणमा जोड दिने, मठमन्दिर पुनर्निमाण, खोला तटबन्धन, बाटो, निमार्णमा दुर्त स्तरमा काम गर्ने आफ्नो पहिलो प्राथमिकता भएको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार