२०८१ माघ २९, मंगलवार

नगर हाँक्ने दौडमा झापाका तीन महिला उपमेयर

२०७९ बैशाख ४, आईतवार
पढ्ने समय : 3 मिनेट

नेकपा एमालेले २०७४ सालको स्थानीय निर्वाचनमा दमकको उपमेयरका लागि सिफारिस गरेको तीन नाममा गीता पौडेल अधिकारी अटाएकी थिइनन् । अधिकारी स्वयंले पनि उपमेयरमा उठ्नेबारे सोचेकी थिइनन् । किनकि, उनी २८ वर्षदेखि दमक बहुमुखी क्याम्पसमा प्राध्यापन गरिरहेकी थिइन् ।

‘नेपाली कांग्रेसले बलियो प्रतिस्पर्धी उठाएपछि अधिकारीको नाम अघि सारिएको थियो,’ एमाले दमक नगर कमिटीका एक नेता सम्झन्छन्, ‘सामाजिकरुपमा पनि सक्रिय र अध्ययन पनि राम्रो भएकाले उहाँलाई उठाइएको थियो ।’पार्टीले उपमेयरमा टिकट दिने भएपछि उनले प्राध्यापन पेशाबाट राजीनामा दिइन् र फरक बाटो रोजिन् । झण्डै चार हजार मतअन्तरले विजयी पनि भइन् । अहिले उनी भन्छिन्, ‘खासमा नगर आफैं एउटा विश्वविद्यालय रहेछ, हिजो प्राध्यापन छाडेकामा कुनै ग्लानी छैन ।’झण्डै तीन दशक प्राध्यापन गरेकाले उनले नागरिकस्तरबाट पनि राम्रो सदभाव र सहयोग पाइन् । ‘अधिकांश मैले पढाएका विद्यार्थीहरु नै मतदाता थिए, मत हालेपछि फरक पार्टी र आस्था भए पनि सदभाव पाइँदो रहेछ’ अधिकारी भन्छिन्, ‘त्यही कारण होला वितेको पाँच वर्षमा मैले कुनै असजिलो महसुस गर्नुपरेन, सबै नजिक आउने, कुनै पनि कुरा सजिलै राख्ने गर्नुभयो ।’कतिसम्म भने नगरपालिकाका कसैको नम्बर माग्नु पर्यो भने पनि उनैलाई फोन आउन थाल्यो । मेयर रोमनाथ ओली राजनीतिक रुपमा पनि उचाइमा पुगेका व्यक्ति थिए, २०५४ सालमै पनि उनी दमकका मेयर बनिसकेका थिए । त्यसैले ओलीलाई कुनै कुरा सुनाउनुभन्दा उपमेयर अधिकारीलाई भन्न नागरिकलाई सहज लाग्यो । ‘मैले चाहिं तीन जेनेरेसनलाई पढाइसकेकाले पनि उहाँहरुले सहज मान्नु भएको होला, तर मैले मेयरज्यूकै सुझाव लिएर सन्तुलित ढंगले काम गरें,’ उनी भन्छिन् ।

पाँच वर्षमा उनको लोकप्रियता देखेरै एमाले दमकले उनलाई ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा मेयरका लागि पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ । झापाका अन्य सबै नगरपालिकामा उम्मेदवार छनौटका लागि निर्वाचन नै भयो, तर दमक मात्र यस्तो नगर हो, जहाँबाट सर्वसम्मतरुपमा तीन जनाको नाम पठाइएको छ । पहिलो नम्बरमा उनै उपमेयर अधिकारी, दोस्रोमा होमबहादुर थापा र तेस्रोमा अम्बिका खनाल छन् ।

‘कतिपय निर्णय उपप्रमुख भएर लिन सकिंदो रहेछ, यो बाटो सही हो भन्दाभन्दै पनि हैसियतले नदिने अवस्था हुन्छ,’ अधिकारी भन्छिन्, ‘विगतमा राखेका केही योजना पूरा भएका छैनन्, त्यसैले अब मेयर भएँ भने पूरा गर्छु भन्ने अपेक्षा राखेर मेयरमा दाबी गरेकी हुँ ।’

एमाले जिल्ला कमिटी झापाले चाहिं पार्टी अध्यक्षको गृह नगर भएकाले दमकको टिकटबारे निर्णय गर्ने जिम्मा केपी शर्मा ओलीलाई नै दिएको छ ।

झापाको प्रमुख व्यापारिक केन्द्रमध्येको एक विर्तामोड पनि नेकपा एमालेबाट निर्वाचित उपमेयर पवित्रा महतारा प्रसाईंले उपमेयरमा दाबेदारी प्रस्तुत गरेकी छन् । हालै भएको उम्मेदवार छनौटको निर्वाचनमा उनी पहिलो नम्बरमा आएकी छन् । उनी भन्छिन्, ‘विधि नै बनाएर निर्वाचन गरिएको हो, तर निर्वाचनबाट आएको मतमा पनि तलमाथि गर्न खोजिंदैछ ।’

विगतमा पाँच वर्ष काम गरेको अनुभवले मेयरको जिम्मेवारी निर्वाह गर्न सक्षम बनाएको उनको भनाइ छ । ‘हरेक क्षेत्रमा महिला निर्णायक भूमिका नहुने परिस्थिति भएकाले र समाजमा महिलाले अधिकार माग्दै गर्दा हामीले पनि नगर चलाउन सक्छौं भनेर पनि मैले दाबी गरेकी हुँ,’ उनी भन्छिन्, ‘पार्टी पंक्तिले पनि मलाई आन्तरिक निर्वाचनमा विश्वास गरेर एक नम्बरमा ल्याउनुभयो, अब यसमा तलमाथि हुनु हुँदैन ।’

हाल एमाले प्रदेश कमिटी सदस्य रहेकी उनी २०४३ सालमा विद्यार्थी राजनीतिबाटै पार्टीसँग जोडिएकी हुन् । उनीसँग लामो समय पार्टीको महिला र किसान विभागमा काम गरेको अनुभव पनि छ ।

प्रसाईंको भनाइमा बितेका पाँच वर्षमा विर्तामोड सडक पूर्वाधार निर्माणदेखि कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा उल्लेख्य काम भएका छन् । ‘विर्तामोड सामुदायिक विद्यालय र निजी विद्यालयबीच ठूलो खाडल थियो, अहिले सामुदायिक विद्यालयलाई पनि स्तरोन्नति गरेर आवश्यकता अनुसार नयाँ संरचना बनाउने, आईसीटी कक्ष, पुस्तकालय लगायत बनाउने काम भएका छन्,’ उनी भन्छिन्, ‘शिक्षामा नगरले फड्को मारेको छ ।’

उनको बुझाइमा विगतमा घोषणा पत्रमा उल्लेखित धेरै विषयहरु नगरपालिकाले पूरा गरेको छ । ‘तर केही बाँकी भएका विषयहरु अझ गर्नुपर्ने छन्, शहरोन्मुख नगर भएकाले समग्र गुरुयोजना बनाएर सबैसँगको छलफलबाट योजना बनाएर काम गर्नुपर्नेछ,’ उनी भन्छिन् ।

यसपालि पार्टीले विश्वास गरेर नगरको नेतृत्वमा जान टिकट दिए, विर्तामोडलाई स्वच्छ, उत्कृष्ट र उदाहरणीय नगर बनाउने गरी काम गर्ने उनी बताउँछिन् । भन्छिन्, ‘महिलाले पनि काम नगरले नेतृत्व गरेर उदाहरणीय काम देखाउनसक्छन् भन्ने देखाउन पनि मैले दाबेदारी दिएकी हुँ ।’

मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीलाई भेट्न उनको निवास पुग्दा तनावमा थिइन् । महिलाले नेतृत्व गर्न खोज्दा महिलालाई नै अगाडि सारेर घेराबन्दी गर्न खोजिएको उनको गुनासो छ ।

‘अन्यत्र एकजना मात्र महिला आकांक्षी भए, आन्तरिक निर्वाचनमा एकजना महिलालाई अनिवार्य मत हाल्नुपर्ने थियो । महिला स्वभाविकरुपमा अगाडि आए,’ उनी भन्छिन्, ‘तर मेचीनगरमा चाहिं महिलालाई नै अघि सारेर मलाई पछि पार्ने प्रयास भयो । यद्यपि, सिफारिसको तेस्रो नम्बरमा मेरो पनि नाम आएको छ ।’

उनका अनुसार आन्तरिक निर्वाचनमा ७ जना मेयरका आंकाक्षी थिए, त्यसमध्ये उनीसँगै देवकुमारी राई र लता प्रसाईं पनि उनीसँगै मेयरका आकांक्षी थिए । प्रसाईं गण्डकी प्रदेशका पूर्वप्रमुख विष्णु प्रसाईंकी श्रीमती पनि हुन् । ०७४ सालको स्थानीय निर्वाचनमा पनि प्रसाईं मेयरको उम्मेवार बनेका थिए । ‘अहिले उमेरले ७० पुगेपछि उहाँले नउठ्ने बताउनु भयो, तर उहाँकी श्रीमती उठ्ने भनेपछि मैले मेयर बन्न आउनु भएको भए म छाडिदिन्छु भनेको थिएँ,’ पोखरेल गुनासो गर्छिन्, ‘तर अघिल्लो दिनसम्म चुपचाप बस्नु भएको उहाँले एक्कासी उम्मेवारी दिने दिन पहिले नाम टिपाउनु भयो र मेयर हुन आएको भन्दा पनि रोक्न आएको बताउनु भयो ।’

उनको बुझाइमा उम्मेवार छनौटका लागि कार्यकर्ताले रुचाएको व्यक्ति अगाडि आउन् भनेर निर्वाचनको व्यवस्था गरिएको हो । तर वडा र नगर कमिटीका पदाधिकारीलाई मात्र मतदानमा सहभागी गराइने हुँदा त्यसको निर्णय कतिपय अवस्थामा व्यवहारिक पनि हुँदैन । उनी भन्छिन्, ‘कमिटीमा जसको बहुमत छ, ऊ अगाडि आउने पनि हुनसक्ने भयो ।’

उपमेयरमै दोहोरिन पनि उनलाई प्रस्ताव नआएको होइन । ‘उपमेयरमा दोहोरिने भए सर्वसम्मतरुपमा पहल गर्ने बाउनु भएको थियो, तर एउटै जिम्मेवारीमा दुई पटक जानु मलाई बाञ्छनीय लागेन,’ उनी भन्छिन्, ‘अरु योग्य साथीहरु पनि अवसरको खोजीमा हुनुहुन्छ, मेरो उपप्रमुखको भूमिकामा परीक्षण भइसक्यो । त्यसैले नयाँ भूमिका खोजेकी हुँ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार