युक्रेनका सहरबाट रुसी सेनाले फिर्ता भएसँगै राजधानी किभ बाहिरको एक सहरमा युद्धमा मारिएका सयौं शवहरूलाई समूहिक चिहानमा गाडिएको छ ।
सरकारी अधिकारीहरूका अनुसार राजधानी किभ नजिकैको सहर बुचामा मृत्यु भएका थुप्रै शवहरूलाई सामूहिक चिहान बनाएर गाडिएको हो ।
‘बुचामा हामीले पहिले नै २८० वटा शवलाई सामूहिक चिहानमा गाडिसकेका छौं,’ मेयर एनाटोली फेडरकले भनेका छन् । उनका अनुसार उक्त सहरका अधिकांश गल्लीहरू युद्धपछि शवहरूले भरिएका थिए ।
र सबैजसो मानिसहरूको टाउकाको पछाडिको भागमा गोली प्रहार गरेको देखिएको मेयर एनाटोलीले बताएका छन् । ती धेरैजसो वयष्क पुरुष र महिला थिए । यस क्रममा १४ वर्षीय पुरुषको शव पनि भेटिएको थियो ।
मेयर एनाटोलीले मुचा सडकमा मात्रै कम्तीमा २२ वटा शव देखेको बताएका छन् । तर रुसी सेनाका कारण ती शवहरू अहिले नै संकलन गर्न सम्भव नभएको अधिकारीहरूले बताएका छन् ।
युक्रेनी अधिकारीहरूले रुसी सेनाले उक्त सहरमा नरसंहार गर्दै निशाना बनाएर आक्रमण गर्दा ठूलो संख्यामा युक्रेनीहरू मारिएका थिए । बुचा सहरमा विगत केही साताहरूमा भयावह भएको थियो । र केही दिन अघिसम्म मात्रै उक्त सहर रूसी कब्जामा थियो।
रुसी सेनाले युक्रेनका विभिन्न सहरमा ठूलो संख्यामा युक्रेनी नागरिकको हत्या गरेका थिए । पछिल्लो शान्ति वार्तासँगै रुसले कब्जा गरेका युक्रेनका सहरहरू फिर्ता गर्ने चरणमा छ ।
गत फेब्रुअरी २४ देखि रुस र युक्रेनबीच सुरु भएको युद्ध मार्च ३० सम्म चलेको थियो । मानवअधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयका अनुसार युक्रेन युद्धमा १ हजार २३२ नागरिक मारिएका थिए । तीमध्ये ११२ जना बालबालिका मारिएका छन् । यस्तै १ हजार ९३५ जना घाइते भएको उच्चआयुक्तको कार्यालयले जनाएको छ । यद्यपि उक्त संख्या बढी हुनसक्ने आकलन गरिएको छ ।