२०८१ चैत्र १०, सोमबार

लेटाङ घटनाः कर्तव्य ज्यान मुद्दामा २० जनामाथि अनुसन्धान हुँदै

२०७८ चैत्र १४, सोमबार
पढ्ने समय : < 1 मिनेट

प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान लिने गरी हिंसात्मक झडप भएको मोरङ लेटाङ प्रकरणमा मोरङ प्रहरीले २० जनाविरूद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।

आफ्नै छात्रामाथि शिक्षकले दुर्व्यवहार गरेको घटनाको विरोधमा लेटाङमा चैत ६ गते प्रदर्शन भएको थियो।

प्रहरीले नियन्त्रणमा लिएका शिक्षकलाई गाउँमै कारबाही गर्नुपर्ने भन्दै उग्र प्रदर्शन गरेका गाउँले र प्रहरीबीच झडप भएको थियो। सोही क्रममा प्रहरी जवान श्रेष्ठमाथि धारिलो हतियारले घाँटीमा प्रहार भएको थियो। उनको सोही दिन मृत्यु भयो।

उनको मृत्यु भएपछि प्रहरीले विभिन्न चरणमा धेरै स्थानीयवासीलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गरेको थियो। तीमध्ये २० जनाविरूद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाएको हो।

अहिले प्रहरी नियन्त्रणमा रहेर अनुसन्धानको दायरामा रहेकाहरूमध्ये एक जना महिला पनि छन्।

यो घटनामा प्रहरीले लेटाङ ५ का ४८ वर्षीया चन्द्रकान्ता लामा, २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, लेटाङ ६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, सोही वडाका १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ ५ का २३ वर्षीय प्रदिप राई, १८ वर्षीया निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय सञ्जय मगरलाई पक्राउ गरेको छ।

त्यस्तै, मिक्लाजुङ गाउँपालिका २ घर भई लेटाङ ५ बस्ने २० वर्षीय कृष्ण विक, लेटाङ ५ का सञ्जीव प्रधान, प्रनिश कट्टेल, झविन भन्ने जस्वीन पाख्रिन, शनिल लिम्बू, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादवलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

लेटाङ घटनाको अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार