बेलबारी २, चैत/डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका सर्वसाधारणi पक्राउको विरोधमा मोरङको गछियामा थप तनाव उत्पन्न भएको छ।
न्याय माग्दै आन्दोलनमा उत्रिएका सर्वसाधारणलाई पक्राउ गरेको विरोधमा स्थानीयबासी थप आन्दोलित भएका छन्। उनीहरुले बुधबार दिनभरि गछिया प्रहरी चौकी अगाडि प्रदर्शन गरेका छन्।
मंगलबार सर्वसाधारणले गरिरहेको प्रदर्शनको भिडिओ खिचेको भन्दै मोरङ प्रहरीले एक जना पत्रकार, दुई जना युटुबरसहित ११ जनालाई पक्राउ गरेको थियो। उनीहरू सबैलाई जिल्ला प्रहरी मोरङले अभद्र व्यवहार गरेको भन्दै मुद्दा दायर गरेको छ।
पक्राउ परेकाहरूलाई प्रहरीले मुद्दा चलाएपछि स्थानीयवासी थप आक्रोशित बनेका हुन्। मोरङ सुन्दरहरैंचा-७ की डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयबासीले राजमार्ग चक्काजाम गरेका थिए। त्यहीक्रममा भिडिओ खिच्ने पत्रकार सम्झना राई र अन्य दुई जना युट्युबरसहितका गाउँलेलाई प्रहरीले मंगलबार साँझ गछियाबाट पक्रेर रातभर हिरासतमा थुनेको थियो। म्याद थप गरेर मुद्दा चलाएपछि उनीहरू केही दिन प्रहरी नियन्त्रणमै हुनेछन्।
मोरङ सुन्दर हरैंचा-७ की डेढ वर्षीया बालिका गएको शुक्रबार साँझ घरबाट बेपत्ता भएकी थिइन्। अपरान्ह चार बजे हराएकी बालिका त्यसको एक घन्टापछि अचेत अवस्थामा फेला परेकी थिइन्। लगत्तै उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याइएकी उनको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको थियो।
नाबालिका हत्या आरोपमा प्रहरीले सोही ठाउँका दुई जना युवालाई पक्राउ गरेको छ। प्रहरीले बालिका हत्या आरोपमा सुन्दरहरैंचा ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो। पक्राउ परेका दुई युवा दाजुभाइ हुन्।
पक्राउ परेका उनीहरूलाई प्रहरीले गाउँलेमाझ सार्वजनिक गर्नुपर्ने स्थानीयबासीको माग छ। बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने कानुन ल्याउनुपर्ने स्थानीयबासीको अर्को माग छ।
प्रहरीका अनुसार बालिकाकी आमा घरमा काममा व्यस्त भएको बेलामा अजयले गएर बालिकालाई १० रुपैयाँ र चकलेट दिएर घटनास्थल बनमारा झाडीमा जबरजस्ती करणी गरेका थिए। त्यसपछि दाजु मिथुनले पनि त्यसै गरेको प्रहरीले जनाएको छ।