रूपेन्द्र शेर्मा
उर्लाबारी, २१ साउन/साढे तीन दशक लामो इतिहास बोकेको उर्लाबारी उद्योग वाणिज्य संघको नेतृत्व कसले हाक्ने भनेर यतिखेर चर्चा परिचर्चा सुरु भएको छ ।
आगामी भदौ ९ गते हुने संघको निर्वाचनका लागि अध्यक्ष पदमा तारामान सिरेङ, विनोद न्यौपाने र रामबहादुर थापा दावेदार देखिएका छन् । ३६ औं साधारणसभाअन्तर्गत महत्वपूर्ण घडि नजिकिदै गर्दा यी तीनै उम्मेदवार व्यापारीहरुको पसलमा भोट माग्न व्यस्त देखिएका छन् ।
अध्यक्ष पदका लागि चुनावी एजेण्डाका विषयमा हामीले यी तीनै जना उम्मेदवारसँग छुट्टाछुट्टै भेट भरेका थियौं । तीमध्ये सिरेङ र थापालाई चुनावी मुद्दा र भावी कार्ययोजना बारेमा हामीले सोधेका थियौं । तर न्यौपानेले व्यस्तताका कारण पछि कुरा गर्ने बताएका छन् ।
सर्वप्रथम कुरा गरौं सिरेङको । २०६२ सालदेखि तारा कोल्ड सेन्टर सञ्चालन गरेका ४४ वर्षिय सिरेङ कार्य समिति सदस्य, महासचिव हुँदै संघको वरिष्ठ उपाध्यक्ष भएर अनुभव सम्हालिसकेका छन् ।
संघको पछिल्लो निर्वाचनमा अध्यक्षमा एकपटक पराजय विहोरिसकेका सिरेङ यसपटक भने विजयी हुने विश्वास व्यक्त गर्छन् । लोकतान्त्रिक पक्षधर व्यापारीहरुको आधिकारिक उम्मेदवार सिरेङले यसपटक आफूलाई सबैले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
विगतदेखि नै व्यापारीहरुको समस्या र पिरमर्कामा खरो उत्रने सिरेङ गएको लक्ष्मी पुजाका रात उर्लाबारी–७ का दिपक कार्कीको सुनचादी पसलमा आगलागी हुँदा नराम्ररी घाइते भएका थिए । छ महिना उपचार पछि निको भएका सिरेङ व्यापारीहरुको हकहितका लागि सधैंभरी लाग्ने प्रतिबद्धता व्यक्त गर्छन् ।
उनले आफू विजयी भएमा वाणिज्य संघमा सबै वस्तुगत व्यापारीहरुको प्रत्यक्ष पहुँच पुर्याउने बताए । ‘व्यापारीहरुको पिरमर्का र समस्यामा सधैं साथ रहने छु’, उनले भने ।
त्यसपछि हामीले अर्का उम्मेदवार न्यौपानेसँग भेटेका थियौं ।
२०५८ सालदेखि मिल मिशेनरी व्यवसाय सञ्चालन गर्दै आएका ४८ वर्षिय न्यौपानेले पनि संघको कार्यसमिति सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष सम्हालिसकेका छन् । संघका पूर्व पाँच अध्यक्षको रोहबरमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरिसकेका न्यौपानेले व्यापारीहरुको हकहितमा विगतमा थुप्रै काम गरिसकेको र अध्यक्षमा निर्वाचित भए अझ धेरै काम गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले व्यस्तताका कारण आफ्नो भावी कार्ययोजनाका बारेमा थप कुरा पछि गर्ने उनले बताए ।
त्यसपछि हाम्रो भेट थापासँग भयो । संघको कार्यसमिति सदस्य र महासचिव पद सम्हालिसकेका ५१ वर्षिय थापाले भेटका क्रममा विजयी भएमा यस्तो काम गर्ने भनेर वेलिविस्तार सुनाए–
१) उर्लाबारीमा कानुन सम्मत तरिकाले मात्र व्यापार व्यवसाय सञ्चालन गर्न दिइने छ । दर्ता नगरी जताभावी गरिने व्यापारमा प्रतिबन्ध लगाइने छ ।
२) तीब्र गतिमा सवारी हाक्ने कार्यमा नियन्त्रण गरिने छ ।
३) घरवहाल कर घरधनीले नै तिर्नुपर्नेछ ।
४) मन्दीका कारण मारमा परिरहेका व्यापारीलाई उनीहरुको घरधनीलाई मनाएर घरभाडामा छुट गराइने छ ।
५) व्यापारिक क्षेत्रको आकषर्ण बृद्धि गरिनेछ ।
६) बैंक व्याजदरको उत्तारचढावमा नियन्त्रण गरिनेछ ।
अन्त्यमा हामीले थापालाई सोधेका थियौं–‘यो सबै काम पुरा गर्न सक्नुहुन्छ ?’, उनले जवाफ फर्काए–‘सक्छु ।’