उर्लाबारी, ४ चैत/प्रदेश सांसद शोभा चेम्जोङ पालुङवाले विकास र समृद्धिका लागि राजनीतिक स्थायीत्व आवश्यक पर्ने बताएकी छन् ।
‘अबको हाम्रो मुद्धा भनेको राजनीतिक स्थायीत्व हो’, शुक्रबार मोरङको उर्लाबारी–२ स्थित सुनपकुवा माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै उनले भनिन् ।
गठबन्धन भत्किएका कारण २०७९ सालको निर्वाचनमा गरिएको प्रतिबद्धताअनुरुप विकास निर्माण अगाडि बढ्न नसकेको उनको भनाई छ । ‘गठबन्धन पाँच वर्षसम्म टिक्छ र विकास निर्माण अगाडि बढ्छ भन्ने हाम्रो विश्वास थियो, तर बाटैमा भत्कियो’, उनले भनिन्, ‘स्थिर राजनीति नभएका कारण हामीले सोचे जस्तो विकास र समृद्धि हाँसिल गर्न सकिरहेका छैनौ ।’ यस क्षेत्रको विकासका लागि आफूले अथक प्रयास गरिरहेको उनले बताइन् । ‘यस क्षेत्रको विकासका लागि अथक प्रयास गरिरहेको छु, मेरो प्रयास जारी छ’, उनले भनिन् ।
शिक्षा भनेको ज्ञानको ज्योति भएको चर्चा गर्दै उनले शिक्षा विना मानव जीवन अधुरो रहने स्पष्ट पारिन् । ‘त्यसैले शिक्षालाई संविधानले मौलिक अधिकारको रुपमा व्याख्या गरेको छ’, उनले भनिन् ।
शिक्षाले मानिसलाई असल, इमान्दर र अनुशासित बनाउने उल्लेख गर्दै उनले भनिन्, ‘सक्षम, इमान्दार र असल नागरिक प्राप्त गर्नु भनेको देश विकास र समृद्धि तर्फ उन्मूख हुनु हो ।
विद्यार्थी, अभिभावक र शिक्षकको संयुक्त प्रयासबाट मात्र शिक्षा क्षेत्रले फड्को मार्ने उनले बताइन् । ‘तर यसमा स्थानीय वासिन्दा र बुद्धिजीवीको पनि महत्वपूर्ण भूमिका रहन्छ’, उनले भनिन् । घरबाटै वालवालिकाले पहिलो शिक्षा प्राप्त गर्ने बताउँदै उनले भनिन्, ‘घर पनि पाठशाला हो, त्यसैले घरमा वालवालिकालाई असल संस्कार दिऔं ।’
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष शिला भट्टराईको सभापतित्व र निवर्तमान युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।