
उर्लाबारी, २० कात्तिक/खानेपानी मन्त्री महेन्द्र राय यादवले नेपालमा पानीको स्रोत सुक्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उच्च हिमाली क्षेत्रमा मुहान रहेको पानीको विश्वमै माग भएपनि स्रोत सुक्दै गएको उनले बताए ।
मोरङको उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा सोमबार आयोजित ‘प्रथम र दोस्रो सहलगानी कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री यादवले भने,‘नेपालको उच्च हिमाली क्षेत्रमा मुहाान रहेको पानीको विश्वमै माग छ, तर पानीको स्रोत सुक्न थालिसकेको छ ।’ नेपालमा मात्र नभएर संसारका सबै देशमा पानीको स्रोत घट्दै गएको उनले प्रष्ट्याए ।
त्यसअवसरमा मन्त्री यादवले उर्लाबारीमा खानेपानी विस्तारका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘छठ लगत्तै यसबारे सरकारले निर्णण गर्नेछ’, उनले भने ।
संस्थाका अध्यक्ष चिन्तामणी पौड्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा उर्लाबारीका नगर प्रमुख गंगा खरेल, एमाले उर्लाबारी नगर अध्यक्ष गंगा बास्तोलालगायतले बोलेका थिए ।