
संयुक्त राष्ट्र संघको महासभाले गाजामा युद्ध विराम गर्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ। तर संयुक्त राज्य अमेरिकाले भने त्यसको विपक्षमा मतदान गरेको छ ।
शुक्रबार राष्ट्रसंघको आपतकालीन विशेष सत्रमा जोर्डनले राखेको उक्त प्रस्तावको पक्षमा १२० मुलुकले मतदान गरी बहुमतले पारित गरेको हो। नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ। तर संयुक्त राज्य अमेरिका लगायत १४ मुलुकले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका छन्।
युरोपेली मुलुकहरू भने मतदान प्रक्रियामा सहभागी भएनन्। संयुक्त राष्ट्रसंघका अनुसार ४५ मुलुकहरू मतदान प्रक्रियामा सहभागी भएनन्।
जोर्डनले राखेको उक्त प्रस्तावमा हमासले गरेको आक्रमणबारे निन्दा नगरिएको भन्दै क्यानडा र बेलायत मतदान प्रक्रियामा सहभागी नभएको बिबिसीले उल्लेख गरेको छ।
गाजामा इजरायल हवाइ आक्रमण गरिरहेको थियो। अब जमीनबाट पनि आक्रमण गर्न थालेको समाचारहरू सार्वजनिक भएपछि संयुक्त राष्ट्र संघले त्यहाँका नागरिकहरूलाई मानवीय सहायता पुर्याउनका लागि पहलस्वरूप सदस्य राष्ट्रहरूको आपतकालीन बैठक बोलाएको थियो।
तीन सातादेखि जारी लडाइँमा ७ हजार भन्दा बढीको मृत्यु भएको छ। तीमध्ये इजरायलमा १ हजार ४ सय नागरिक मारिएका छन्। इजरायलको आक्रमणबाट गाजामा ५ हजार भन्दा बढी नागरिकहरूको ज्यान गएको छ। हजारौंको संख्यामा घाइते छन्।
मारिनेहरूमा २ हजार भन्दा बढी बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको दाबी छ। हमासले इजरायल र अन्य देशका गरी साढे २ सयभन्दा बढी व्यक्तिहरूलाई बन्धक बनाएको बिबिसीले उल्लेख गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले बन्धक बनाइएका सम्पूर्णलाई विनाशर्त रिहा गर्नुपर्ने र युद्ध रोकिनुपर्ने बताएका थिए। उनले सबैलाई आ-आफ्नो जिम्मेवारी निभाउनुपर्ने बताउँदै इतिहासले सबैको मूल्यांकन गर्ने बताएका थिए।