२०८१ भाद्र २४, सोमबार

संगठित अपराध आरोपमा पूर्व उपप्रधानमन्त्रीका छोरा पक्राउ

२०८० बैशाख २१, बिहीबार
पढ्ने समय : 2 मिनेट

उर्लाबारी, २१ वैशाख/नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई बुटवलबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत  काठमाडौंले नेकपा एमालेका सचिव समेत रहेका टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिने क्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए। सन्दीपलाई बिहीबार बुटवलबाट काठमाडौं ल्याउने प्रहरीको तयारी छ।

टोपबहादुर रायमाझी अहिले अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य छन्।

प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरिसकेको छ। उनी गृह सचिव हुँदा भएको घटनामा संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरिएको हो।

पाण्डे आफैं परिसरमा उपस्थित भएपछि प्रहरीले पक्राउ गरेको हो। उनी २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृह सचिव थिए।

मंगलबार मात्रै प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्‍द्रजित राईलाई पक्राउ गरेको थियो। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयानमा राईलाई पनि रकम बुझाएको खुलेपछि उनी पक्राउ परेका हुन्।

यस घटनामा उनका छोरा निरज राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर उनी पक्राउ परिसकेका छैनन्।

प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ। दुलालले नै मन्त्रालयमा रहेका राईसँग समन्वय गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

२०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनाएको थियो। उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो।

कार्यदलले मन्त्रालयलाई प्रतिवेदन बुझाए पनि सार्वजनिक गरेको थिएन। जसले गर्दा प्रतिवेदनमै नक्कली भुटानी शरणार्थी समावेश गरिएको हो कि भन्ने आशंका थियो।

अनुसन्धानकै लागि जिल्ला प्रहरी परिसर काठमाडौंले मन्त्रालयसँग प्रतिवेदन माग गरेको थियो। उक्त प्रतिवेदन मन्त्रालयले गत चैत २८ गते परिसरलाई उपलब्ध गराइएको थियो। त्यस प्रतिवेदनमा पनि ८ सय भन्दा बढी नक्कली भुटानी शरणार्थीको नाम समावेश गरिएको  छ। त्यसमा भएका चार वटा अनुसूचिमा मात्रै वास्तविक शरणार्थीको नाम उल्लेख छ। बाँकीका नाम भने पछि थपिएको पाइएको हो।

इन्द्रजितपछि भूमिका खेल्ने व्यक्तिहरूलाई पनि पक्राउ गर्ने प्रहरीको तयारी छ। सुरूमा भुटानी शरणार्थी बनाएर ठगी गरेको भन्ने जाहेरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो।

उक्त जाहेरीको आधारमा प्रहरीले केशव दुलाल लगायतलाई पक्राउ गरेको थियो। थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला परिसर काठमाडौंमा पठाइएको छ। उनीहरूमाथि ठगी तथा संगठित अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार