
उर्लाबारी, १९ वैशाख/नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्। हत्या आरोप लागेका कोइरीलाई मंगलबार निलम्बन गरिएको हो। संसद सचिवालयले सूचना टाँस गरी कोइरीलाई निलम्बन गरिएको जानकारी दिएको हो।
महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित उनीमाथि सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप छ। २०७२ भदौ २५ गते उच्च अदालत जनकपुरले उनलाई हत्या आरोपमा थुनामा राख्न आदेश दिएको थियो।
त्यसपछि फरार रहेका उनको खोजी गर्न सहयोग माग्दै प्रहरी प्रधान कार्यालय नक्सालले संसद सचिवालयलाई दुई पटक पत्र लेखेको थियो ।
प्रहरी प्रधान कार्यालयले २०७९ साल पुस ७ गते नै सांसद कोइरी फरार रहेको सूचना संसद सचिवालयका महासचिवलाई पत्र लेखेर जानकारी दिएका थिए। तर सभामुख देवराज घिमिरेले नयाँ नियमावली पारित भएपछि फेरि प्रहरीबाट पत्र आउनुपर्ने अडान लिँदै आएका थिए। उनले पुरानो पत्रका आधारमा सांसद कोइरीलाई निलम्बन गर्न आनाकानी गरेका थिए। प्रहरीले पछिल्लो पटक सभामुखलाई नै सम्बोधन गरेर पत्र पठाएको थियो।
प्रतिनिधि सभाको वैशाख १५ गतेको बैठकमा सभामुख देवराज घिमिरेले फरार रहेका सांसद कोइरीले अस्वस्थ रहेको भन्दै पठाएको पत्रलाई समावेश गरेर बिदा स्वीकृत भएको घोषणा गरेका थिए। लगत्तै सत्तापक्षका सांसदहरूले बैठकमा विरोध जनाएका थिए। सांसदहरुको विरोध थेग्न नसकेपछि उनले संसद बैठक समेत स्थगित गर्नुपर्ने अवस्था उत्पन्न भएको थियो। नयाँ अधिवेशनमा कानून बमोजिम गर्ने भन्दै सभामुख घिमिरे पछि हटेका थिए।