
‘कति कमजोर रहेछ भाग्य तिम्रो सिउँदो कोर्न सकिन’
कति कमजोर रहेछ रहर तिम्रो आँशु पुछ्न सकिन’
रातको १२ बजिसकेको थियो । आधा दर्शकहरु बाहिरीसकेका थिए । यत्तिकैमा वरिष्ठ गायक दिप श्रेष्ठ स्टेजमा उत्रिए । उर्लाबारीका दर्शकलाई धेरै गीत सुनाउने रहर हुँदाहुँदै समयले डाँडा काटिसकेकाले मंगलबार राति थोरै गीत मात्र उनले पस्किए–
‘म त दुरदेखि आएँ, तिम्रो नाम बोकेर
सम्बोधन गर्दागर्दै गइगयो छोडेर’
दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले काठमाण्डौबाट उर्लाबारी आएका गायक दिपको विषयमा आयोजक उर्लाबारी क्लबले निकै प्रचार गर्यो । तर रात छिप्पीसकेकाले दर्शकहरु बाहिरिँदै थिए ।
द भ्याइस अफ नेपालका वरिष्ठ कोच दिपले उर्लाबारी पार्टी प्यालेसमा आयोजित मेगा फेशन शो तथा म्युजिकल फिस्टामा धरानकी मेलिना राईसँग ‘जती हाँसु भन्छु आँशुमा डुब्छ जीवन’ र सिर्जना राईसँग ‘मुटुको ढोका खोलेर आउँछौ की आउँदैनौ’ बोलको युगल गीत गाएका थिए ।
रातको १२ :३० बजिसकेकाले अन्त्यमा ‘मेरी मायालु बितेका कुराले केही चोट लाग्दा तिमी टाढा हुँदा धेरै दुःख लाग्छ’ बोलको गीत गाएर आफ्नो प्रस्तुति बीट मारेका थिए ।
दिप अघि भारत, दार्जिलिङका चर्चित गायक सुरेशकुमार क्षेत्रीले ‘प्रिय तिम्रो सम्झना भविष्यको कल्पना मुटुमा बोकेर’ र ‘गाजालुले आँखै छोप्ने क्या राम्री मेरी मायालु बैंशले चटक्कै परेकी’ बोलको गीत गाएर उपस्थित दर्शकलाई मनोरन्जन दिएका थिए । कर्णप्रिय स्वरका धनी गायक सुरेशले समय अभावका कारण दुईवटा मात्र गीत गाए । उनले भने, ‘अहिले समय नभएकोले मैले धेरै गीत गाउन सकिन, मलाई फेरी उर्लाबारी आउने मन छ ।’
सुरेशअघि पप गायक तथा गिटारिस्ट ज्योति घिमिरेले आफ्नो प्रस्तुती दिएका थिए । उनले ‘मस्की मस्की नहिँड, नशालु तिम्रो आँखाले र अन्जान तिमी’ वोलका गीत गरी तीनवटा गाएका थिए ।
शायवुङ क्रिएशनले डिजाइन गरेका फेशनहरुलाई मोडलहरुले आकर्षक तरिकाले प्रर्दशन गरेका थिए । क्यान्सर पीडित सविन श्रेष्ठको उपचारका लागि सहयोग जुटाउने उद्देश्यले आयोजित सो कार्यक्रमको महत्वपूर्ण समय फेशन शोमै खर्च भएको थियो ।
प्रमुख अतिथि प्रदेश साँसद शोभा चेम्जोङ पालुङवाले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेकी थिइन् । संगीत बिनाको जीवन अधुरो हुने राय व्यक्त गर्दै साँसद शोभाले भनिन्, ‘मान्छेको जीवनमा उत्तारचढावहरु आइरहन्छ । यी उत्तारचढाव र मानसिक अशान्तिलाई संगीतको माध्यमबाट साम्य पार्न सक्छौं ।’
कतिपय गीतहरु हाम्रो जीवनसँग मेल खाने र आँशु समेत झर्ने उल्लेख गर्दै उनले संगीत मानव जीवनमा अपरिहार्य रहेको र संगीत बिना बाच्न कठीन हुने राय व्यक्त गरिन् ।
मानव जीवनमा भौतिक, सामाजिक, अध्यात्मिक र मानसिक गरी चार चीजको सन्तुलन मिल्न आवश्यक रहेको औंल्याउँदै उनले संगीतबाट मानसिक सन्तुलन मिल्ने धारणा राखिन् ।
उनले परम्परागत मुल्य मान्यतमा आधारित हाम्रो समाजको फेशन शो प्रतिको दृष्टिकोण सकरात्मक हुन आवश्यक छ भन्दै आधुनिक युगमा आफ्नो धर्म, संस्कृति र कलालाई समयसापेक्ष रुपमा पस्कन सक्नुपर्ने राय व्यक्त गरिन् ।
उर्लाबारी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चन्द्रबहादुर भट्टराई ‘भरत’ ले इभेण्ट राम्रो भएको र यसलाई सबैले सकरात्मकरुपले लिनुपर्ने बिचार व्यक्त गरे ।
क्लबका सल्लाहकार तथा समाजसेवी सचिन शाक्यले कार्यक्रमको औचित्य र क्लबले विगतमा गरेका सामाजिक गतिविधि बारे प्रकाश पारेका थिए ।
क्लबका अध्यक्ष दिनेश श्रेष्ठले कार्यक्रममा मुनाफा भएकोमध्येबाट ७० प्रतिशत् रकम क्यान्सर पीडित श्रेष्ठलाई हस्तान्तरण गरिने जानकारी दिए ।
पूर्व मिस पूर्वाञ्चल नेमिता आङबुहाङले सञ्चालन गरेको कार्यक्रममा सांसद शोभा, मिस्टर नेपाल ललित धिमाल र गायिका मेचु धिमाललाई सम्मान गरिएको थियो । बिभिन्न सहयोगदाताहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।