२०८१ चैत्र १०, सोमबार

तुम्बेवामा राष्ट्रपति रनिङ शिल्ड उद्घाटन

२०७९ फाल्गुन ८, सोमबार
पढ्ने समय : 3 मिनेट

मौवा(पाँचथर), ८ फागुन/पाँचथरको मौवामा तुम्बेवा गाउँपालिकास्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार सुरु भएको छ ।
गाउँपालिकाको आयोजना र स्थानीय इन्द्राणी माध्यमिक विद्यालयको व्यवस्थापनमा सो प्रतियोगिता सुरु भएको हो ।


सो प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सांसद शोभा चेम्जोङ पालुङवाले खेलकुदले राष्ट्र प्रतिको भावना र प्रेम जागृत गर्ने बताइन् । ज्ञान हाँसिल गर्ने र खेलाडि उत्पादन गर्ने महत्वपूर्ण थलो भनेकै विद्यालय भएको र यस प्रतियोगिताको माध्यमबाट खेलाडिहरुले आफू र आफ्नो ठाउँको नाम राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उनले बताइन् ।

प्रतियोगिताले विद्यार्थीहरुलाई हौसला बढाउने र उत्साह जोगाउने उल्लेख गर्दै सांसद शोभाले भनिन्, ‘शिक्षा भनेको ज्ञानको ज्योति हो भने खेलाडि भनेको देशको अमुल्य गहना हो ।’


सांसद शोभाले भनिन्, ‘खेलाडि भनेको आफ्नो वडाको, आफ्नो पालिकाको, आफ्नो जिल्लाको, आफ्नो प्रदेशको र आफ्नो देशको एउटा प्रतिष्ठा हो ।’ हरेक विद्यार्थीमा केही न केही रुची र प्रतिभा हुने भएकोले त्यसको पहिचान विद्यालयले गर्ने र उजागार, प्रष्फुटन र विकासको वातावरण तयार पार्ने जिम्मेवारी सरकारको भएको उनले बताइन् ।

गुणस्तरीय शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकारले बनाएको नीति र योजनाको प्रभावकारी कार्यान्वयनमा समेत उनले जोड दिइन् ।

भौतिक पूर्वाधार विकास अति आवश्यक भएपनि त्यो सँगसँगै खेलकुद क्षेत्रको विकासमा पनि ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘खेलाडि उत्पादन र वृत्ती विकास गरी उनीहरुको जीवन निर्वाहका लागि सहयोग गर्न राज्य गम्भीर हुनुपर्छ ।’


प्रदेश सरकारले खेलकुद विकास बोर्ड गठन गरेर उत्कृष्ठ खेलाडि पहिचान गरी पुरस्कृत गर्ने कार्य सुरु गरेको जानकारी दिँदै उनले खेलकुद विकासका लागि थप नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयनका लागि आफ्नो पहल र प्रयत्न रहने प्रतिबद्धता व्यक्त गरिन् ।


तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष खड्गसुन्दर सम्बाहाम्फे, एमाले गाउँपालिका अध्यक्ष डिल्ली बुढाथोकी, तुम्बेवा–१ का वडाध्यक्ष धनबहादुर कार्की, इन्द्राणी माविका पूर्व प्रधानध्यापक श्यामबहादुर थापा, बुद्धेश्वरी मावीकी प्रधानध्यापक जानुका राई, भूमी बर्गिकरणका सहजकर्ता बाबुराम पोखरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

इन्द्राणी माविका प्रधानध्यापक खड्ग थापाले सञ्चालन गरेको सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा इन्द्राणी मावि, त्रिवेणी मावि, सिद्ध महेन्द्र मावि, वलने मावि, बुद्धेश्वरी मावि, इन्द्रावती मावि र इभर ग्रीन एकाडेमीका विद्यार्थीहरुले मार्च पास गरेका थिए ।


प्रतियोगितामा इन्द्राणी मावि, त्रिवेणी मावि, सिद्ध महेन्द्र मावि, वलने मावि, बुद्धेश्वरी मावि र इन्द्रावती माविका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार