उर्लाबारी, ५ फागुन/अंग्रेजी शिक्षा युगको माग भएको शुक्रबार मोरङको उर्लाबारीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
मोरङको उर्लाबारी–७ स्थित बेथेल एकाडेमीद्वारा आयोजित बार्षिक खेलकुद कार्यक्रमका वक्ताहरुले निजी विद्यालयले समाज परिवर्तनका लागि महत्वपूर्ण योगदान पुर्याएको दाबी गरे ।
नेपाल प्याब्सनका प्रदेश अध्यक्ष राजन पौडेलले अंग्रेजी शिक्षा युग सुहाउँदो भएको उल्लेख गर्दै विद्यार्थीहरुले गरेको क्रियाकलापले समाज परिवर्तनका लागि ठूलो योगदान पुगेको विचार व्यक्त गरे । निजी विद्यालयहरुले वालवालिकाको मनोविज्ञान बुझेर सोहीअनुसारको गतिविधि सञ्चालन गरेकाले समाज रुपान्तरण भएको उनको भनाई छ ।
उर्लाबारी–७ की वडाध्यक्ष उर्मिला थापाले समाज सुधारका लागि शिक्षाले महत्वपूर्ण योगदान पुर्याउने र त्यसमा निजी विद्यालयको भूमिका महत्वपूर्ण भएको धारणा राखिन् ।
विद्यालयका संस्थापक प्रिन्सीपल दिपक न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा उर्लाबारीका अध्यक्ष भानुभक्त शर्मा पराजुली, नेपाल प्याब्सन मोरङका उपाध्यक्ष नारायण ढकाललगायतले बोलेका थिए ।
सो अवसरमा बिविध सांस्कृतिक कार्यक्रमहरु समेत प्रदर्शन गरिएको थियो ।