उर्लाबारी, २१ माघ/प्रदेश १ का मुख्य मन्त्री हिक्मत कार्कीले अर्थतन्त्रमा नीतिगत त्रुटीका कारण मुलुकको व्यापार व्यवसाय धरासयी भएको बताएका छन् । उपयुक्त मौद्रिक नीति ल्याउन सके औधोगिक र व्यापारिक क्षेत्रमा देखा परेका समस्यामा सुधार ल्याउन सकिने उनको भनाई छ ।
उर्लाबारी उद्योग वाणिज्य संघद्वारा आयोजित प्रादेशिक महोत्सवको शनिबार उद्घाटन गर्दै मुख्य मन्त्री कार्कीले भने, ‘आर्थिक तरलता अभावका कारण बैंकको व्याजदर बढेको छ । उद्योग र व्यापारमा नकरात्मक असर परेको छ ।’
बैंकको उच्च व्याजदर घटाउन सके उद्योगी व्यापारीहरुलाई राहत पुग्ने बताउँदै उनले त्यसका लागि पहल गर्ने बताए । मुख्य मन्त्री कार्कीले उद्योगी व्यापारीहरुलाई अहिलेको समस्याबाट पलायन नहुन र धौर्य गर्न आग्रह गरे । यस महोत्सवले थोरै भएपनि अर्थतन्त्र चलायमान हुन र सुधार ल्याउन एउटा ईटा थप्ने उनले बताए । प्रदेश सरकारको तर्फबाट बजेटले भ्याएसम्म महोत्सवलाई सहयोग गर्नेे मुख्य मन्त्री कार्कीले बताए ।
मोरङ क्षेत्र नं.१ ‘१’ का प्रदेश सभा सदस्य उमाकान्त गौतमले आर्थिक संकटग्रस्त औधोगिक र व्यापारिक क्षेत्र प्रबद्धनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस महोत्सवले उर्लाबारी र आसपासको अर्थतन्त्रमा सुधार ल्याउन सहयोग पुर्याउने उनको बुझाई छ ।उनले महोत्सव अवधिभर बिभिन्न जातजातिको मौलिक नृत्यहरुलाई पालैपालो समावेश गराउन आग्रह गरे ।
त्यसैगरी प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङवाले उर्लाबारी उद्योग वाणिज्य संघले लामो समयपछि प्रादेशिक महोत्सव आयोजना गरेकोमा खुशी व्यक्त गर्दै यस महोत्सवले उद्योग, व्यापार, कृषि र पर्यटन प्रबद्धन मात्र नभएर कला, संकृति, धार्मिक, भौगोलिक, ऐतिहासिक, जैविक बिविधता र प्राकृतिक सम्पदाको प्रचार प्रसारमा सहयोग पुग्ने राय व्यक्त गरिन् ।
स्वदेशी उत्पादन उपभोग गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव सह्रानीय कार्य भएको र आर्थिक मन्दी भएको बेलामा महोत्सवले उद्योगी व्यापारीहरुको हित गर्ने उनको भनाई छ ।
समथर तराईदेखि सर्वोच्च शिखर सगरमाथासम्म फैलिएको प्रदेश १ मा धेरै समुदायहरुको प्राचिन सभ्याता रहेको बताउँदै उनले प्रदेश १ को समृद्धिका लागि यस महोत्सवले स्थानीय तह र प्रदेश सरकारको नीति र योजना निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।
मुलुकमा महत्वपूर्ण राजनीतिक परिवर्तनहरु भएपनि जनजीवनको अवस्था फेरिन नसकेको र आर्थिक क्रान्ति हुन नसकेको उल्लेख गर्र्दै उनले कृषि, पर्यटन, उद्योग र ऊर्जा नै यस प्रदेशको विकासको सम्भावना भएको बताइन् ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष टिका ढकालले यस महोत्सवलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।
महासंघकै निवर्तमान प्रदेश अध्यक्ष नगेन्द्र खड्काले विकासको मुल आधार नीजि क्षेत्र भएको बताउँदै महोत्सवलाई सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गरे ।
उर्लाबारी नगरपालिकाका प्रमुख गंगा खरेलले समाजमा रहेको विकृति विसंगती हटाउन र उर्लाबारीको विकास गर्न सबैको सहयोग आवश्यक पर्ने बताए ।
संघका अध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा राजनीतिक दलहरुको तर्फबाट जनता समाजवादी पाटीका नगर अध्यक्ष मात्रिका धिमाल, पूर्व संघीय साँसद घनश्याम खतिवडा, बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई, सहकारी सञ्जाल उर्लाबारीकी अध्यक्ष सीता कार्की, समाजसेवी भोलामान श्रेष्ठलगायतले मन्तब्य राखेका थिए ।
संघका महासचिव हेमराज गुरुङले सञ्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तब्य महोत्सव संयोजक चन्द्रबहादुर भट्टराई ‘भरत’ र समापन सहसंयोजक प्रितम खड्गीले गरेका थिए ।
कार्यक्रममा बिभिन्न जातजातीहरुले उल्लासमय तरिकाले झाँकी प्रदर्शन गरेका थिए । लिम्बुको च्याब्रुङ, मगरको हुर्रा, राईको चण्डी, नेवारको लठ्ठी र लाखे, भोटेको स्यप्रो र तामाङको डम्फु र सेलो नाच प्रदर्शन गरिएको थियो । त्यसैगरी धिमाल नाच, सन्थाल नाच, सनाई नाच, याख्या नाच र गुरुङ नाच पनि महोत्सवमा प्रदर्शन गरिएको थियो ।
माघ २९ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा दैनिकरुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने सहसंयोजक खड्गीले जानकारी दिए ।
महोत्सवमा कृषि, औधोगिक र व्यापारिक स्टलहरुका साथै बिभिन्न जातजातीका मौलिक खानाका परिकारहरु राखिएका छन् ।