
उर्लाबारी, १५ माघ/मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं.७ का २३ परिवारलाई आइतबार जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ ।
यस कार्यबाट पुर्जा प्राप्तीका लागि दशकौंदेखि प्रयासरत भूमीहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुमा खुशियाली छाएको छ ।
मिक्लाजुङ गाउँपालिकाको पहलमा राष्ट्रिय भूमी आयोग जिल्ला समिति मोरङले उनीहरुलाई एक कार्यक्रमबीच जग्गा धनी प्रमाण पुर्जा वितरण गरेको हो ।
आयोगका अध्यक्ष केशव निरौलाले जनताको कामका लागि रातदिन नभनीकन खटेर पुर्जा बितरण गर्ने काम भइरहेको बताए । यस किसिमको जनमुखी काममा सरकारले सहयोग गर्नुपर्ने उनको भनाई छ ।
प्रतिनिधि सभा सदस्य डिगबहादुर लिम्बुले सबै नेपालीलाई जग्गाको धनी बनाउन सक्नुपर्नेमा जोड दिए । सरकार जुनसुकै पार्टीको भएपनि जनतालाई छिटो छरितो ढंगले जग्गाको मालिक बनाउनुपर्ने उनको भनाई छ ।
आयोगकी जिल्ला अध्यक्ष शुशिला घिमिरेले सबैको हातमा जग्गा धनी प्रमाण पुर्जा पुर्याउन आफू प्रयत्नरत रहेको बताइन् । नाप नक्शाका काम आठवटा पालिकामा गरिएको र सबै पालिकामा कसरी काम गर्ने भनेर छलफल भइरहेको उनले जानकारी दिइन् ।
पूर्व प्रदेश सभा सदस्य कुशल लिम्बुले मिक्लाजुङवासीले जग्गा धनी प्रमाण पुर्जा प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै राम्रो काम गर्नेलाई सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।
गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले पाँच हजार दुई सय ४१ वटा निस्सा र ५३ वटा पुर्जा तयारी भइसकेको जानकारी दिए । तर राजस्व दररेट सामाजिक न्यायको आधारमा कायम नभएको उनको गुनासो छ ।
गाउँपालिकाका अध्यक्ष बबीकुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं.७ का अध्यक्ष शुशिलराज चौहान, लेखा अधिकृत शुशिल बास्तोलालगायतले मन्तब्य राखेका थिए ।