२०८१ भाद्र २४, सोमबार

सर्पदंशको उपचार गर्ने तयारी

२०७९ माघ १२, बिहीबार
पढ्ने समय : 2 मिनेट

रूपेन्द्र शेर्मा
पथरी, १२ माघ/मोरङको पथरीशनिश्चरे नगरपालिकाले सर्पदंश उपचार सेवा सञ्चालन गर्ने भएको छ । सर्पदंश उपचार सेवा सञ्चालन गर्ने यो नगरपालिकाको निर्णयको सर्वत्र प्रशंसा गरिएको छ ।

पथरी नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालन गरिने हालै सम्पन्न ११ औं नगर सभाले निर्णय गरेको हो । तर कहिलेदेखि यो सेवा सञ्चालन गर्ने भनेर नगरपालिका स्पष्ट हुन सकेको छैन । यदी यो नगरपालिकाले सर्पदंश उपचार सेवा सञ्चालन गरेमा मोरङका सर्पदंशका विमारीहरु लाभान्वित हुनेछन् ।

गर्मीयाममा वर्षेनी सयौं मानिसहरु सर्पदंशबाट पीडित हुनेगरेपनि कतिपयले अकालमै ज्यान गुमाउने गरेका छन् भने कयौं विमारीहरु छिमेकी जिल्ला झापाको दमक जान वाध्य छन् ।

सर्पदंश उपचार सेवा सञ्चालनका लागि आवश्यक अध्ययन गरी प्रक्रिया अगाडि बढाइने नगर प्रवक्ता नविन कार्कीले बताए ।

नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी हेफर नेपालसँग साझेदारी कार्यक्रम सञ्चालन गर्ने समेत जानकारी दिएको छ । हेफरले सामाजिक सशक्तिकरण र आर्यआर्जन कार्यक्रम सञ्चालन गर्छ । हेफरले विगत एकदशकअघिसम्म मोरङको ग्रामीण क्षेत्रमा साझेदारीमा कार्यक्रम सञ्चालन गरेको थियो । हेफरले पथरीशनिश्चरे नगरपालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यस नगरपालिकाले सुकुम्वासीलाई जोतभोगको आधारमा धनीपुर्जा दिन संघ र प्रदेश सरकारलाई अनुरोध गर्ने र सुकुम्वासी वसोवास गरेको जग्गाको मालपोत नलिर्ने निर्णय गरेको छ ।


वि.स.२०३६ सालदेखि नै यस नगर क्षेत्रमा जटिल प्रकारको भूमी सम्बन्धि समस्या छ । दोहोरो स्वामित्वका कारण चर्चामा रहेको यहाँको समस्या समधानका लागि हरेक निर्वाचनमा नेताहरुको चुनावी मुद्धा बन्ने गर्छ । तर जटिल प्रकारको समस्याका कारण यो यथावत छ ।

नगरको पश्चिमतर्फ वग्ने डाँस खोला र पूर्वतर्फ बग्ने सुनझोडा र वक्राह खोलाको नदीजन्य पदार्थ उत्खनन र संकलनको सम्बन्धमा छिमेकी पालिकाहरुसँग समन्वय गर्ने नगर प्रमुख मोहन तुम्वापोले बताए ।

नगरपालिकाले पूर्वी र पश्चिम बस विसौनी छेउमा सार्वजनिक शौचालय निर्माण गर्ने पनि निर्णय गरेको छ । सार्वजनिक शौचालय अभावका कारण बजार भर्न आउने उपभोक्ता र सार्वजनिक वसबाट ओर्लने यात्रुहरुलाई समस्या भएको थियो ।

नगरपालिकाका प्रेस संयोजक सन्तोष राईले पत्रकार सम्मेलन सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार