२०८१ चैत्र १०, सोमबार

स्वास्थ्य शिविरबाट दुई सय ८४ जना लाभान्वित

२०७९ माघ ८, आईतवार
पढ्ने समय : 2 मिनेट

उर्लाबारी, ८ माघ/मोरङको उर्लाबारी ६ स्थित मोरङ मोडल कलेजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ८४ जनाले सेवा लिएका छन् ।

सामाजिक उतरदायित्व बहन गर्ने हेतुले विगतदेखि नै मोरङ मोडल कलेजले विविध जनमुखी कार्यहरु गर्दै आएको छ । आइतबार कलेज परिसरमा स्थानीय गोदावरी हस्पिटल उर्लाबारीको समन्वय र प्राविधिक सहयोगमा स्वास्थ्य शिविर संचालन गरिएको हो ।


शिविरमा गोदावरी हस्पिटलका संचालकसमेत रहेका वरिष्ठ चिकित्सक सुर्यनारायण साहको नेतृत्वमा नौ जना चिकित्सक टोलीले बिरामीको स्वास्थ्य जाँच गरेका थिए ।

शिविरमा बाल रोग, मुटु, मिर्गौला, हाडजोर्नी तथा नशा, छाला तथा यौन, नाक, कान, घाँटी, स्त्री रोग, दाँत, मधुमेह र पाठेघरलगायत समस्याको विशेषज्ञ सेवा दिइएको थियो ।

शिविरमा दक्ष चिकित्सकबाट उपचार भइरहँदा बाल रोग विशेषज्ञ डा. सुविन कर्णसंग बच्चाहरुको चेकजाँच र उपचार गराउन होड नै चलेको हो । शिविरमा आएका विमारी बालबालिकाहरुलाई धैर्यका साथ दक्ष चिकित्सक कर्णले राम्ररी परीक्षण गरी सन्तुष्ट गरेर पठाएको गोदावरी हस्पिटलका बजार व्यवस्थापक प्रकाश चौहानले जानकारी दिए ।

जँचाउन आएका प्रायः महिला विरामीलाई भिडियो एक्सरे लगायत विभिन्न ल्याब टेष्ट गरेर रोगको निदान गरिएको तथा औषधी सिफारिस गरिएको पनि चौहानले बताए ।

यस्तै, बरिष्ठ सर्जन प्रमोद गुरुङ, डा. लेकिन कोइराला, डा. ममता पण्डित, डा. मनोजकुमार साह, डा. किशोरकुमार पौडेल, डा. अनिल तिमल्सिना, डा. शिवकुमार साहलगायत चिकित्सकहरुले आ–आफ्ना विशेषज्ञ सेवा प्रदान गरेका थिए ।

कलेजका प्रबन्ध निर्देशक यादप भण्डारीले आर्थिक अभावका कारण अस्पतालसम्म पुगेर सेवा लिन नसकेका सर्वसाधारणलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार