
उर्लाबारी, ७ माघ/मानव जीवनका अति संवेदनशील क्षेत्र मानिएका अस्पतालहरु नाफामुखी नभई सेवामुखी हुन जरुरी रहेको शनिबार मोरङको उर्लाबारीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
निजी अस्पतालहरुले महँगो शुल्क लिँदा कयौ विमारी टाट पल्टिएको र कयौं विमारी उपचारबाट बञ्चित भई मृत्युको मुखमा पुग्न वाध्य भएको समेत वक्ताहरुले औंल्याएका छन् ।
अरनिको अस्पतालको नवौं साधारणसभाका वक्ताहरुले जनस्वास्थ्यका क्षेत्रमा निजी अस्पतालहरुको महत्वपूर्ण भूमिका रहेपनि सुविधा सम्पन्न अस्पतालमा सबै विमारीको पहुचँ नपुग्ने बताएका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले जनस्वास्थ्यको क्षेत्रमा निजी अस्पतालहरुको योगदान महत्पूर्ण रहेपनि सेवामुखी भन्दा नाफामुखीतर्फ केन्द्रीत रहेको बताए ।
हरेक नागरिकहरु रोगी भई अस्पताल मात्र बस्नुपरेमा त्यो देशको उन्नति कहिल्यै नहुने बताउँदै खापुङले स्वास्थ्य समस्या समधानका लागि सबैजना एकजुट हुनुपर्नेमा जोड दिए । उनले निजी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवाका साथै रोजगारी सिर्जना समेत गरेको बताए ।
प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङवाले कयौं विमारीहरु गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित रहेको र सबैको पहुचँमा स्वास्थ्य सेवा पुर्याउन आफूले आवाज उठाउने बताइन ।
कयौं विमारीहरु उपचार गर्दागर्दै टाट पल्टिएकोमा चिन्ता व्यक्त गर्दै उनले आधारभुत स्वास्थ्य सेवा हरेक नागरिकको संवैधानिक अधिकार भएको बताइन् । विपन्न विमारीहरुको निःशुल्क उपचार गरी अरनिको अस्पतालले सामाजिक दायित्व निर्वाह गरेको र अस्पताल नाफातर्फ नभई सेवातर्फ केन्द्रीत भएको भन्दै उनले प्रशंसा गरिन् ।
विकसित मुलुकहरुमा विमारीको निःशुल्क उपचार हुने स्मरण गराउँदै उनले त्यो नेपालमा पनि लागू गर्न सके विपन्न जनतालाई ठूलो राहत पुग्ने बताइन । शिक्षा, स्वास्थ्य र खाद्यान्न नागरिकहरुको मौलिक हक अधिकार भएको र यसतर्फ सबैले ध्यान दिन जरुरी उनले बताइन् ।
उर्लाबारी नगरपालिकाका प्रमुख गंगा खरेलले स्वास्थ्य नै धन हो भन्दै लापारवाही गरे स्वास्थ्यमा ठूलो जोखिम उत्पन्न हुनेतर्फ सचेत गराए । ‘स्वास्थ्य यस्तो चिज हो, स्वास्थ्य ठीक छ भने सबै कुरा हुन्छ, स्वास्थ्य ठीक छैन भने केहीपनि हुँदैन’, उनले भने ।
उर्लाबारीका पूर्व मेयर खड्ग फागोले अस्पतालले पुर्याएको गुणस्तरीय चिकित्सा सेवाको प्रशंसा गरे । उनले नगरको विकासको लागि सबैले सहयोग गर्नुपर्ने बताए ।
सभामा पत्रकार सरोज बस्नेत र जगन्नाथ भट्टराई तथा पूर्व मेयर फागोसहित सामाजिक जीवनका बिभिन्न क्षेत्रमा योगदान पुर्याउने एक दर्जन बढीलाई सम्मान गरिएको थियो ।
अस्पतालका अध्यक्ष लोलिम पोमुको अध्यक्षतामा भएको सो सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी महिला विभागकी नगर अध्यक्ष निरुपा निरौला र रोटरी क्लब अफ उर्लाबारीका अध्यक्ष हेमचन्द्र भट्टराईले आ–आफ्नो धारणा राखेका थिए ।
अस्पताल सञ्चालक समिति सदस्य तथा पूर्व जनप्रतिनिधि वम पोमुले सभामा स्वागत मन्तब्य राखेका थिए ।