सिजुवा, १३ पुस/मोरङको रतुवामाई नगरपालिकाले कृषकहरुको विधुत महशुल तिरिदिने भएको छ । कृषि प्रयोजनका लागि सञ्चालित सिंचाई मिटरबाट उठेको विधुत महशुल नगरपालिकाले तिर्न लागेको हो ।
कृषकहरुलाई राहत प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको नगर प्रमुख नागेश्वरप्रसाद सिँह गनगाईले बताए । यस सम्बन्धमा कृषकहरुलाई सूचना जारी गरिएको उनले जानकारी दिए ।
कृषकले मालपोत तिरेको रसिद, जग्गा धनी प्रमाण पुर्जाको फोटोकपी र अघिल्लो आर्थिक बर्ष विधुत महशुलको वक्यौता रकम तिरेको प्रमाण पेश गरेपछि नगरपालिकाले सिँचाई मिटरको महशुल तिरिदिने नगर प्रमुख गनगाईले बताए ।
कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले धान, मकै, तरकारी वालीलगायतका बिऊ बिजन खरिदमा पनि ५० प्रतिशत अनुदान प्रदान गरिने नगर प्रमुख गनगाईले जानकारी दिए ।
नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि चालु आर्थिक वर्ष २०७९/०८० मा तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको पनि नगरप्रमुख गनगाईले जानकारी दिए ।
रतुवामाई नगर क्षेत्रमा करिब १८ हजार कृषक परिवार रहेको र तीमध्ये नेपाल विधुत प्राधिकरणमा दर्ता कायम रहेको कृषि सिँचाई मिटरको विधुत महशुल नगरपालिकाले भुक्तानी गरिदिने कृषि शाखा प्रमुख नरहरी निरौलाले बताए ।