
झापा, ५ पुष/झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका वडा नं.१ बस्ने ३७ वर्षिय जगतबहादुर भुजेल रहेका छन् ।
आज दिउँसो ४.२० बजेको समयमा कचनकवल गाउँपालिका वडा नं.१ स्थित पश्चिम देउराली चारकोसे सामुदायिक वनमा घाँस दाउरा गरी फर्केने क्रममा भुजेललाई वनसंग जोडिएको यज्ञ ओलीको खेतबारीमा सोही सामुदायिक वनबाट आएको जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी बसन्त पाठकले बताए । उनले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
झापामा यस वर्षको ९ महिनामा हात्तीको आक्रमणमा परी चारजनाको ज्यान गएको छ । भदौको दोस्रो साता मेचीनगर ९ थोप्लेविरान सामुदायिक वनस्थित भित्री सडकखण्डमा स्कुटीमा सवार ३४ वर्षिया सम्झना श्रेष्ठको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । त्यसको तीन दिनअघि जंगली हात्तीको आक्रमणबाट बाह्रदशीमा एक बृद्धको मृत्यु भएको थियो ।
बाह्रदशी १ बस्ने ८० वर्षिय देवीबहादुर अधिकारीलाई सोही ठाउँमा रहेको मनकामना सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गरेको थियो । त्यस्तै गत जेठको पहिलो साता झापामा हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको थियो । हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–९ पशुपति टोल बस्ने ७० वर्षीय पेना किसानको मृत्यु भएको थियो ।