२०८१ भाद्र २४, सोमबार

चासोक तङनाम हर्सोल्लासपूर्वक मनाइंदै, दुई पुरस्कृत हुने

२०७९ मंसिर २१, बुधबार
पढ्ने समय : 3 मिनेट

रूपेन्द्र शेर्मा

उर्लाबारी, २१ मंसीर/लिम्बु समुदायको महान चाड चासोक तङनाम बिहीबारदेखि हर्सोल्लासपूर्वक मनाइंदैछ ।

त्यस अवसरमा नेपाल, भारत, हङकङ, संयुक्त अधिराज्य, दक्षीण कोरिया, संयुक्त राज्य अमेरिकालगायतका मुलुकहरुमा रहेका लिम्बु समुदायले जातीय भेषभुषासहित साँस्कृतिक कार्यक्रम गरी चासोक मनाउँदैछन् ।

राजधानी काठमाण्डौसहित पूर्वी नेपालको संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, इलाम, पाँचथर र ताप्लेजुङमा रहेका लिम्बु बस्तीहरुमा बिभिन्न कार्यक्रम गरी चासोक मनाउन लागिएको हो ।

सोही अवसरमा मोरङको उर्लाबारी–९ आमबारीमा तीन दिने चासोक महोत्सव आयोजना गरिएको छ । विगत वर्षहरुझैं यसवर्षपनि सो स्थानमा चासोक महोत्सव आयोजना गरिएको हो ।

किरात याक्थुङ चुम्लुङ नगर शाखा उर्लाबारीको आयोजनामा हुने चासोक महोत्सवमा जातीय झाँकीसहित मौलिक नृत्य तथा खेल तमासाहरु सञ्चालन गरिने छ । उद्घाटन हुनुअघि लिम्बु जातीका पुरोहित फेदाङ्बाद्वारा पाठपुजा गरी न्वागी चढाइने छ ।

त्यस अवसरमा लिम्बु जातिको मौलिक खेल छेलो हान्ने, डोरी तान्नेलगायतका खेल प्रतियोगिता सञ्चालन गरिने चुम्लुङका नगर उपाध्यक्ष अमर सेलिङले जानकारी दिए ।

के हो चासोक तङनाम ?

लिम्बू समुदायले महान चाडको रुपमा मनाउदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी) पूजा उधौली याममा बालीनाली भित्राउने बेलामा सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको  नयाँ अन्नबाली चढाउने पूजा  हो भने तङनाम भनेको पर्व  हो ।

लिम्बु जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषियुग शुरु हुनुअघि लिम्बूहरुका आदिम पूर्खा सावा येत्हाङहरुले कन्दमूल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरु कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे । यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङसँग प्रर्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरुले पेना/माङदःक(कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउविजन तागेरानिवाभु माङले उपलब्ध गराई दिए ।यसरी धान र अन्नका वीउ विजन पाएपछि लिम्बू जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठमो खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर वीउ विजन रोपी छरी अन्न फलाइन । यसरी छरपोख गरी उब्जाएर खानु भन्दा अगाडि माङहरु(देवीदेवता)लाई चडाउने प्रचलन बसाले, यसैलाई चासोक (न्वागी) पूजा भनियो भन्ने पाइन्छ । मनुष्यलाई खेतीपाती सिकाउने देवीका रुपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्दछन् । यीनै कथन अनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको पाइन्छ । आफूले लगाएको बालीनाली पाकेपछि माङहरुलाई चढाएपछि खाने र रमाउने चाडको रुपमा लिइएको पाइन्छ । सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान (तङसिङ) पनि गर्ने गरिन्छ ।

  आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने(अन्धो बनाउने), कान दुखाउने(बहिरा बनाउने) जस्ता भयवह रोगव्याधिले दुःख पाइन्ने लिम्बू जातिमा विश्वास रहिआएको छ । यतिबेला लिम्बू समुदाय बसोबास रहेको माथिल्लो पहाडी क्षेत्रको बारी नै भरि पैंयू फुलेको छ । यसरी पैँयू फुलेको समयलाई  लिम्बूहरूले उधौली याम (दक्षिणायन) सुरु भएको सङ्केतको रुपमा मान्छन् । उधौली सुरु भएपछि माछा, चराचुरुङ्गी दक्षिणतिर लाग्दछ । खास गरेर जाडो छेक्नलाई यसो गरिएको हो भन्ने गरिन्छ । यहि समयमा हिमाली भागमा हिँउ पर्ने भएकोले उच्च पहाडि भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठहरु पनि तल बस्तितिर झारिन्ने गरिन्छ, जसलाई उद्यौली झारिएको भन्ने गरिन्छ । यीनै गाईगोठहरुलाई हिउँदो भरी खेतबारीमा मलजल गराई पुनः बैशाख महिनामा उकालो लगिईन्छ, जसलाई उभौली भन्ने गरिन्छ । जुन समयमा खेतबारीमा अन्न लगाउने समय भएको हुन्छ । प्रकृतिक पूजक लिम्बूहरुले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवताहरुसँग प्रार्थना गर्ने गर्छ । जसलाई यक्वा पूजा (उभौली पूजा) भन्ने गरिन्छ । र यीनै देवीदेवताको आर्शिवादले फलाएको उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरिन्छ ।

दुईजनालाई पुरस्कार तथा सम्मान

किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिले पूर्वको दुई कलाकारलाई पुरस्कार वितरण तथा सम्मान गर्ने भएको छ ।

लिम्बु साहित्य लेखनतर्फ महत्वपूर्ण योगदान पुर्याएवापत पाँचथर, फाल्गुनन्दका मलिसा याक्थुम्बा र कलाकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएवापत सुनसरी, धरानकी शोभा खजुमलाई नगद पुरस्कारसहित सम्मान गर्न लागिएको हो ।

याक्थुम्बालाई नगद २५ हजार तथा खजुमलाई १० हजार रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिने चुम्लुङकी केन्द्रीय सदस्य विमला पालुङ्वाले जानकारी दिइन् । उनीहरुलाई आमबारीमा आयोजित चासोक महोत्सव समापन कार्यक्रममा पुरस्कृत एबम् सम्मानित गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार