२०८१ कार्तिक २५, आईतवार

दबाबमा मूलधारका दल

२०७९ मंसिर ६, मंगलवार
पढ्ने समय : < 1 मिनेट

आमनिर्वाचनको प्रारम्भिक मतपरिणामले राष्ट्रिय स्वतन्त्र पार्टी, साना दल र स्वतन्त्र उम्मेदवारप्रति मतदाताको आकर्षण देखाएको छ । पछिल्ला दशकहरूमा रजगज गर्दै आएका दल र नेताहरूको एकाधिकार तोडिने मात्र होइन, संसदीय शक्ति समीकरणका खेलाडी पनि थपिने भएकाले मूलधारका दलहरू दबाबमा परेका छन् ।

पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा पाँच महिनाअघि मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा राष्ट्रिय पार्टीका रूपमा उपस्थिति जनाउने देखिएको छ । सोमबार मध्यरातिसम्म मतगणना भइरहेका प्रत्यक्षतर्फका एक सय सिटमा स्वतन्त्र पार्टीले नौ स्थानमा अग्रता लिएको छ भने समानुपातिकमा कांग्रेस र एमालेपछि तेस्रो स्थानमा छ । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १३१ स्थानमा स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको थियो । प्रदेशसभा निर्वाचनमा भने उसले भाग लिएको छैन ।

प्राप्त मत र जित्ने सिटका आधारमा स्वतन्त्र पार्टी भव्य पार्टी बन्ने सम्भावना छैन । तर, उसको उपस्थितिले अब कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धन पनि अपूरो हुनेछ । त्यस्तै एमाले, माओवादी, एकीकृत समाजवादी मिले पनि समीकरण पूरा हुन झन् गाह्रो हुनेछ । यस्तो अवस्थामा स्वतन्त्र पार्टीको अडान अर्थपूर्ण हुने सम्भावना छ । त्यस्तै सीके राउत नेतृत्वको जनमत, रेशम चौधरी नेतृत्वको उन्मुक्ति पार्टीले पनि संसद्मा प्रतिनिधि पठाउने र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बढाउने सम्भावना छ ।

एक सिटमा गणना भइरहँदा यी दलले १२ स्थानमा अग्रता लिएका छन् । त्यस्तै ६ स्वतन्त्र उम्मेदवार पनि अगाडि छन् । संसदीय सिट वितरित भएर असंगठित सांसदको उपस्थिति बढ्ने भएकाले पनि रैथाने दल दबाबमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार