उर्लाबारी, ४ मंसीर/बिभिन्न कारणले देशका ७५ स्थानमा मतदान रोकिएको थियो । तीमध्ये ६० स्थानमा मतदान सुरु भएको छ । १५ स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको छ ।
दोलाखा,बाजुरा र सिराहलगायतका स्थानमा असहज परिस्थितिका कारण मतदान रोकिएको थियो । ती स्थानमा मतपेटीका फुटाउने, जलाउने र मतदान केन्द्र नै ध्वस्त पार्ने कार्य भएकाले मतदान रोकिएको हो । तर औपचारिकरुपमा भने कतैपनि मतदान स्थगित नभएको निर्बाचन आयोगले जनाएको छ । रोकिएका स्थानहरुमा मतदान सुरु गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ ।
यसपटकको निर्बाचनमा मतदाताहरुको उत्साहजनक सहभागिता देखिएको छैन । यद्यपि रसुवा र मुस्ताङमा भने ७० प्रतिशत मतदान भएको आयोगको दाबी छ ।
यो निर्बाचनमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ तथा प्रदेश सभामा प्रत्यक्षतर्फ ३३० र समानुपातिक २२० गरी ५५० साँसद चयन हुनेछन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ६१ वटा राजनीतिक दलका एक हजार ५४५ र स्वतन्त्र ८६७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधि सभाको समानुपातिकतर्फ दुई हजार १९९ जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेश सभाका ३३० सीटका लागि प्रत्यक्षतर्फ तीन हजार २२४ र समानुपातिकतर्फ तीन हजार ७०८ जना उम्मेदवार छन् ।