उर्लाबारी, १३ कात्तिक/साहित्यकार मञ्जुल मितेरीद्वारा लिखित ‘कामी’ कविता संग्रह शनिबार मोरङको उर्लाबारीमा विमोचन गरिएको छ । साहित्यकार कुन्ता शर्माले एक कार्यक्रमका बीच उक्त कृति विमोचन गरेकी हुन् ।
शिखा बुक्सद्वारा प्रकाशित ‘कामी’ मितेरीको तेस्रो कृति हो ।
मुर्तिकार समेत रहेका मितेरी जापानमा कार्यरत रहँदा बाँकी रहेको समयमा लेखिएका कविताहरुलाई यो संग्रहमा समावेश गरिएका छन् । कृतिमा समावेश केही कविताहरु भने उनले नेपालमै लेखेका थिए । मितेरी ओसिमा सेकीबुचू यामा नामक मुर्ति निर्माण प्रतिष्ठानको अनुरोधमा बुद्धिको मुर्ति बनाउन छ बर्षअघि जापान गएका हुन् ।
जीवन दर्शन, प्रेम दर्शन, समाजका विकृति, विसंगती र विभेदविरुद्ध लक्षित यो कृतिमा ३८ वटा कविताहरु समावेश छन् ।
उक्त कृति माथि डा.भिम खतिवडा, साहित्यकार मिश्र बैजयन्ती र रोशन परियारले टिप्पणी गरेका थिए ।
उक्त कृतिमा रहेका कवितामध्ये साहित्यकार भरत गुरागाईले ‘म एउटा युद्ध लडेर आउँछु’, सुन्दर कुरुपले ‘साकुराको फेदमा उभिएर’, मनोज विश्वकर्माले ‘आऊ, अब हामी सँगै हिँडौ’ र गगन योक्पादेनले ‘बेमौसमको कविता’ बाचन गरेका थिए ।
उक्त कृति जापान र भारतमा पनि विमोचन गर्ने तयारी भइरहेको बताइएको छ ।
आयोजक नेपाली साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमीको अध्यक्षतामा भएको सो कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेललगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा प्रदेश १ का अधिकांश साहित्यकारहरुको उपस्थिति रहेको थियो ।