उर्लाबारी, ३ कात्तिक/नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सम्मिलित वाम लोकतान्त्रिक गठबन्धनले बिहीबार मोरङको उर्लाबारीमा निर्बाचन समितिको कार्यालय उद्घाटन गर्दै चुनावी लडाई जितिसकेको दाबी गरेको छ । विकास र समृद्धिका लागि देशव्यापी जनलहर गठबन्धनको पक्षमा आएको तर्कका साथ यस्तो दाबी गरिएको हो ।
मोरङ क्षेत्र नंं १ बाट गठबन्धनका साझा उम्मेदवार डिगबहादुर लिम्बुले जनजीवीका, विकास र समृद्धिका लागि गठबन्धन राष्ट्रिय आवश्यकता भएको स्पष्ट पार्दै यसलाई चुनौति र अवसरका रूपमा लिनुपर्नेमा जोड दिए । राजनीतिक दल विना देश नचल्ने ठोकुवा गर्दै लिम्बुले भ्रष्टचार न्युनिकरणका लागि गठबन्धन गरिएको बताए । आपसी विश्वास र सद्भावका साथ गरिएको गठबन्धनले नै चुनावपछि सरकार बनाउने र त्यसपछि सबै मिलेर कमजोर अर्थतन्त्रलाई सुधारेर युवाको आक्रोशलाई व्यवस्थापन गर्न सकिने उनको भनाई छ ।
मोरङ क्षेत्र नं. १ ‘क’ का प्रदेश सभा सदस्यका उम्मेदवार कुशल लिम्बुले संघीयताको कार्यान्वयन र विकासको मुल फुटाउन वाम लोकतान्त्रिक गठबन्धन गरिएको बताए । नयाँ राजनीतिक शिराका साथ गरिएको गठबन्धनले फराकिलो मतान्तरका साथ चुनावी लडाई जितिसकेको उनको दाबी छ ।
कांग्रेस प्रदेश सह–महामन्त्री खड्ग फागोले संविधानको रक्षा र राष्ट्रको आवश्यकता बमोजिम गठबन्धन गरिएको र गठबन्धनका उम्मेदवारलाई जिताउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । फागोले राजनीतिक दल प्रति जनताको वितृष्णा पैदा भएकोले सबैलाई सचेत गराउँदै आफूले सक्ने मात्र बोल्न उम्मेदवारहरुलाई सुझाव दिए ।
निर्बाचन परिचालन समितिका संयोजक शंकर राईको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस सह–महामन्त्री फागोले रिबन काटेर कार्यालय उद्घाटन गरेका थिए ।
गठबन्धनका तर्फबाट प्रतिनिधि सभाको समानुपातिकतर्फ विसेन्द्र चेम्जोङ र ममता राजवंशी उम्मेदवार छन् । प्रदेश सभा सदस्यको समानुपातिकतर्फ शोभा चेम्जोङ पालुङ्वा, विद्या चाम्लिङ र राम कार्की उम्मेदवार छन् ।