२०८१ भाद्र २४, सोमबार

मंगलबारेमा खानेपानीको शाखा उद्घाटन

२०७९ कार्तिक १, मंगलवार
पढ्ने समय : 2 मिनेट

उर्लाबारी, १ कात्तिक/मोरङको उर्लाबारी नगरपालिका वडा नं.३ मंगलबारेमा खानेपानीको शाखा कार्यालय उद्घाटन गरिएको छ । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले मंगलबार एक कार्यक्रम बीच सो शाखा उद्घाटन गरेको हो ।

यसअघि मंगलबारे खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले त्यस क्षेत्रमा खानेपानी बितरण गरेपनि उपभोक्ता सन्तुष्ट हुन सकेको थिएन । तर हालै उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा गाभिएपछि त्यस क्षेत्रका वासिन्दाले शुद्ध पानी प्राप्त गर्न थालेका छन् ।
उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले प्राविधिक समस्या हल गरेपछि मंगलबारेका वासिन्दाले शुद्ध पानी प्राप्त गरेका हुन् । हाल त्यस क्षेत्रमा ६ सय ९१ वटा धारा जडान गरिएको छ ।

उक्त कार्यालय उद्घाटन गर्दै नगर प्रमुख गंगाप्रसाद खरेलले उर्लाबारीलाई समृद्ध नगरपालिका वनाउने क्रममा शिक्षा, स्वस्थ्यसँगै शुद्ध खानेपानीलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको बताए । आफ्नै पहलमा मंगलबारे र उर्लाबारी खानेपानीबीच मर्ज गरिएको उनको भनाई छ ।


उर्लाबारी–२ का वडाध्यक्ष राजन कंडेलले आफ्नो वडामा अझैपनि शुद्ध खानेपानी पुग्न नसकेको गुनासो गरे । उनले चाँडो भन्दा चाँडो २ नम्बर वडामा पाइपलाइन बिस्तार गरी खानेपानी पुर्याउन आग्रह गरे । ‘२ नम्बर वडामा अहिलेसम्म खानेपानी किन छैन ?, सम्बन्धित निकायको आँखा नपरेको की ध्यान नदिएको ?’, कंडेलले प्रश्न गरे ।

संस्थाका अध्यक्ष चिन्तामणी पौडेलले उर्लाबारी–२ को तल्लो भेगमा खानेपानी बितरण भइसकेको र वडा नम्बर २ को अन्य स्थानमा भने चाँडै नै खानेपानी बिस्तार गरिने जानकारी दिए । उनले नगरपालिका र खानेपानी विभागसँग मिलेर २ नम्बर वडामा खानेपानी बिस्तार गर्ने योजना सुनाए । नगरका नौवटै वडाका वासिन्दाहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउन संस्थाले काम गरिरहेको पौडेलले बताए ।


कार्यालय प्रमुख राजु बुढाथोकीले मंगलबारेमा प्राविधिक पक्ष सुधार गरेर शुद्ध पानी बितरण गरिएको जानकारी दिए । उनले खानेपानीको महत्व बारे प्रकाश पार्दै यस क्षेत्रमा योगदान पुर्याउने अग्रजहरुलाई विर्सन नहुने राय व्यक्त गरे ।

उर्लाबारी–३ का वडाध्यक्ष भिष्म बुढाथोकीले विगतमा मंगलबारेका वासिन्दाले खानेपानी प्रति गुनासो गरेपनि हाल आएर शुद्ध पानी बितरण भइरहेको बताए ।

सो कार्यक्रममा  मंगलबारे खानेपानीका संस्थापक अध्यक्ष शोभितबहादुर निरौलालाई  सम्मान गरिएको थियो ।

संस्थाका  सचिव मेघराज श्रीपालीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार